कांग्रेसको १४औँ महाधिवेशनका तीन ‘लक्की’ नेता

काठमाडौँ, ७ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लगि भएको चुनावको परिणाम आउनेक्रम मंगलबार पनि जारी छ । मंगलबारसम्म सभापतिलगायत पदाधिकारी, खुला केन्द्रीय सदस्य, भूगोल केन्द्रीय सदस्य, मधेसी केन्द्रीय सदस्य, थारु खुला केन्द्रीय सदस्य, मधेसी महिला केन्द्रीय सदस्यको मत परिणाम आएको छ ।

सम्पूर्ण परिणाम आइसकेको छैन। मंगलबार बेलुकासम्मको परिणाम केही रोचक प्रतिस्पर्धा देखिएका छन् । मधेसी महिला केन्द्रीय सदस्यमा मुक्ता यादव ३९६० मतसहित जारी महाधिवेशनमा सर्वाधिक मत पाउने उम्मेदवार बनेकी छन् ।

केही उम्मेदवार भने १ र २ मतको झिनो मतान्तरमा जित हात पार्न सफल भएका छन् । झिनो मतान्तरमा जित हात पर्ने लक्की तीन नेता हुन् धनराज गुरुङ, उद्धव थापा र कर्णबहादुर बुढा।

केन्द्रीय उपसभापतिमा गुरुङले विजयकुमार गच्छदारलाई २ मतले पराजित गरे। उनले १९०८ मत पाउँदा गच्छदारले १९०६मत पाए । गुरुङ कोइराला समूहबाट पार्टीको सबैभन्दा माथिल्लो पदमा जित हात पार्ने नेता हुन् । उनी शक्तिशाली मानिएका गच्छदारलाई पराजित गर्दै पहिलो पटक कांग्रेसको पदाधिकारी बनेका छन् ।

उता प्रदेश १ को सभापतिको टुंगो पनि २ मतको फरकले लाग्यो । उद्धव थापाले चर्चित युवा नेता गुरुराज घिमिरेलाई २ मतले पराजित गरे। थापाले ८ सय ४४ मत पाउँदा घिमिरेले ८ सय ४२ मत पाए । घिमिरेको पराजयले कोइराला समूहमा तरंग नै ल्याएको थियो। किनकी सभापतिमा पराजित डा। शेखर कोइरालालगायत सो समूहका शीर्ष ४ नेताले प्रदेश अधिवेशनमा मतदान नै गरेका थिएनन् ।

यस्तै मंगलबार सम्पन्न कर्णाली प्रदेश भूगोल खुला केन्द्रीय सदस्यको मतपरिणाम पनि रोचक आयो। गणनाको अन्तिम चरणसम्म अग्रता बनाइरहेका पूर्वमन्त्री निवर्तमान केन्द्रीय सदस्य हृदयराम थानीलाई एकले पराजित गर्दै कर्णबहादुर बुढा पहिलो पटक कांग्रेस केन्द्रीय सदस्य बने । बुढाले २२०० मत पाउँदा थानीले २१९९ मत पाए । स्मरण रहोस थानी वरिष्ठ नेता रामचन्द्र पौडेलका सबैभन्दा विश्वासिला नेता मानिन्थे । पौडेलले यो पटक महाधिवेशनमा मतदान नै गरेनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति