एमसीसी अध्ययन कार्यदलले ओली सरकारले लुकाएका दस्तावेज खोज्दै

काठमाडौं, ५ पुस । सत्तारुढ गठबन्धनको हिजो आइतवार बसेको बैठकले एमसीसीबारे अध्ययन गर्न ले बनाएको तीन सदस्यीय कार्यदलले तत्काल काम थाल्ने भएको छ ।

बैठकले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा काँग्रेसका तर्फबाट सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सदस्य रहेको एमसीसी अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलका संयोजक खनालले आजभोलि नै कार्यदलको पहिलो बैठक बसेर काम सुरु गर्ने बताए ।

उनले कतिपय एमसीसीसँग सम्बन्धित दस्तावेजहरू केपी ओली नेतृत्वको सरकारले लुकाएकाले ती दस्तावेजहरू समेत खोजेर अध्ययन गर्ने बताए ।‘पहिलो बैठकको समयका लागि छलफल भइरहेको छ । साथीहरूसँग छलफल गरेर पहिलो बैठक कुनै पनि बेला बस्छ र आजभोलिबाटै काम सुरु हुन्छ’, कार्यदल संयोजक खनालको भनाइ छ ।

उनले कार्यदलले एमसीसीबारे विभिन्न दस्तावेजहरू अध्ययन गर्ने र निचोडका रूपमा सरकारलाई सुझाव पेस गर्ने पनि बताए ।‘हामी पहिला सबै सम्बन्धित दस्तावेजहरू भेला गर्छौ, हिजो हामीले कतिपय दस्तावेजहरू पाएकै थिएनौ, त्यो बेला केपी ओली सरकारले दस्तावेज नै लुकाइदियो । ती दस्तावेजहरूको समेत अध्ययन गरेर सरकारलाई सुझाव पेस गर्छौ’, संयोजक खनालको भनाइ छ ।

त्यस क्रममा कार्यदलले अन्य दलका नेताहरूसँग समेत छलफल गर्नेछ । हाल तीन सदस्यीय कार्यदलको नेतृत्व गरेका खनाल यसअघि नेकपाद्वारा गठित एमसीसी सम्बन्धी कार्यदलका समेत संयोजक थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति