काठमाडौं, ५ पुस । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे सरकारको भूमिका अनुसार आफूहरू प्रस्तुत हुने बताएका छन् । अनेरास्ववियू महिला विभागले गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न काभ्रेका पुगेका पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राखेका आफ्नो सरोकार सम्बोधन नभएकाले सर्वदलीय बैठकमा सहभागी नभएको पनि उनले बताए ।
‘सरकारले के गर्छ ? सरकारको बिजनेस के हो ? आफ्नो पोजिसन प्रस्तुत गर्नुपर्यो नि ,गठबन्धनले के धारणा बनाउछन् ? हामी त प्रमुख प्रतिपक्षी हो, सरकारले एमसीसीको बारेमा आफ्नो प्रक्रिया कसरी चाल्छ, चालोस् न,’ उनले भने, ‘सरकार कुन रुपमा प्रस्तुत हुन्छ ।
सरकार कुन रुपमा प्रस्तुत हुन्छ, त्यसको आधारमा हामी प्रस्तुत हन्छौं ।’सरकारसँग बहुमत रहेको भन्दै उनले हिम्मत भए संसद्मा प्रस्तुत गर्न चुनौती दिए । यस्तै अर्को सन्दर्भमा नेता पोखरेलले सभामुखले निष्पक्ष भूमिका नखेलेको, पार्टीले कारबाही गरेका व्यक्ति सांसदकै रुपमा रहेको विषयमा प्रधानमन्त्री समक्ष राखिएको सरोकार सम्बोधन नभएकाले सर्वदलीय बैठकमा सहभागी नभएको तर्क गरे ।आफ्ना सरोकारका बारे प्रधानमन्त्रीको धारणासमेत उनले माग गरेका छन् ।
तीनदिने आवासीय प्रशिक्षणमा एमाले नेता भानुभक्त ढकाल, गोकुल बास्कोटा, विन्दा पाण्डे, माधव ढुंगेल लगायतले प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया