नेवार समुदायमा मिठाे परिकार यःमरीकाे पर्व धान्य पूर्णिमा

भक्तपुर, ४ पुस । आज यःमरी पुन्हि, हेमन्त ऋतु बखत नेपाल सम्बतको दोस्रो महिना थिंलाको पूर्णिमा पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषत नेवार समुदायले मनाउने गर्दछन । यो दिन विशेष प्रकारको परिकार (यःमरी) बनाएर खाने गर्दछन । यःमरी खाइने भएकोले यसलाई यःमरी पुन्ही पनि भन्ने गरिएकाे बताइन्छ । यहि दिन उपत्यकाका नेवार भित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् ।

नेवारी भाषामा “यः” अर्थात मन पर्ने र “मरि” अर्थात रोटी भन्ने बुझिन्छ । नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार योमरी खाने चलन छ । यःमरी भित्र विषेशगरी चाकु र आजकाल खुवा पनि राख्ने चलन छ । यःमरि पुन्हिको दिन बाहेक महत्वपुर्ण दिनहरु जस्तै जन्मदिन्, घरको उद्घाटनमा पनि यःमरि बनाउने चलन छ । धान्य पूर्णिमाको साँझ टोलटोलमा देउसी, भैलो खेले झैं केटाकेटी, युवायुवती जम्मा भई यःमरी माग्ने चलन छ । यःमरी माग्ने प्रचलन यो दिनको एक महत्त्वपूर्ण सांस्कृतिक पक्ष हो । आजकल भने त्याे चलन हराउँदै गएकाे छ । यस दिन नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाएर यःमरी पुन्ही मनाउने चलन छ । याे राेटी खानाले जाडाे सहन सक्ने क्षमता बढ्ने र बुढाबुढीहरूकाे कफ नष्ट गर्ने शक्तिकाे विकास हुने भनाइ रहेकाे छ ।

अघिल्लाे दिन नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा योमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको राेटी (ल्होँचामरी) बनाई पूजा गरी चढाउने गरिन्छ । यःमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ । यसरी चढाएको यःमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन छ । यस दिन विवाह भैसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ । यःमरीको चुच्चो अनुसार दिन लामो हुँदै जान्छ भन्ने जनविश्वास रहेकाे र यःमरी पुन्हीका दिनदेखि दिन लामो हुने मान्यता पनि छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति