कोका–कोलालाई २ अर्ब करछली गरेको भन्दै राजस्व अनुसन्धान विभागले ७ दिने पत्र काट्यो

काठमाडौं, पुस २ । राजस्व छलीको आरोपमा बहुराष्ट्रिय कम्पनी कोका–कोलाका नेपालस्थित पदाधिकारीलाई राजस्व अनुसन्धान विभागले ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ। नेपालमा कोका–कोला उत्पादन गर्दै आएको कम्पनी बोटलर्स नेपाल प्रालि बालाजुकी प्रमुख शुक्ला वासानसहित १५ जनालाई म्यादभित्रै उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो। उनीहरुलाई पटक–पटक विभागका अधिकारीले बोलाउँदा पनि नआएपछि सात दिने म्यादसहितको सूचना जारी गरी उपस्थित हुन भनिएको विभागले जनाएको छ । यदि सात दिनभित्र उनीहरु नआए कम्पनीविरुद्ध तत्काल सोही ऐनअनुसार कारबाही हुने विभागले स्पष्ट पारेको छ। यसरी बोलाइएका १५ जनामा बोटलर्स नेपाल प्रालि बालाजुकी प्रमुख शुक्ला वासान, निर्देशकहरु मेल्भिन तान चुन पिन, मोहम्मद अमिन गोनिम, गौरव खोसला, सन्दीप बाजोरिया, देवव्रत मुखर्जी, सुमन्ता दत्त, जवाहर सोलाई कुपुस्वामी, संकेत रे, डिनाइज म्यारी–लुइस लाउवेन्स, केइथ इयान स्ट्यासे, चोलिया डी सिल्भा तथा प्रबन्धनिर्देशकद्वय सलमान ल्याटिफ रावन र पुनीत चन्द्रपाल वष्र्ने तथा वित्तीय प्रबन्धक सुमित गोयल रहेका छन्।

बहुराष्ट्रिय कम्पनी कोका–कोलाले नेपाललाई तिर्नुपर्ने दुई अर्ब रुपैयाँ बढी कर छली गरेको विभागको अनुसन्धानले देखाएको छ। झण्डै एक वर्ष लगाएर यससम्बन्धी अध्ययन पूरा गरेपछि कोका–कोलाले उक्त रकम कर छलेको निष्कर्षमा विभाग पुगेको हो। बोटलर्स नेपाल लिमिटेडमा रहेको विदेशी लगानीकर्ताको सेयर विदेशमा किनबेच हुँदा नेपाललाई पुँजीगत लाभकर नतिरेको बारे विभागले गत वर्षदेखि अनुसन्धान गरिरहेको थियो। नेपाललाई जानकारी नै नदिई बोटलर्स नेपाल लिमिटेडमा लगानी रहेको विदेशी कम्पनीको स्वामित्व परिवर्तन भएको देखिएको छ। बोटलर्स नेपालमा ३ किसिमका लगानीकर्ता छन्। यसमा ७५ प्रतिशत विदेशी लगानी छ भने २२ प्रतिशत लगानी नेपालकै खेतान समूहको छ। बाँकीचाहिँ सर्वसाधारणको लगानी छ। कम्पनीको ७५ प्रतिशत लगानीयुक्त सेयर स्वामित्व ६ वर्षअघि नै परिवर्तन भएको खुलेको छ। विदेशी लगानीकर्ताले सो जानकारी कम्पनी रजिस्ट्रारको कार्यालय, उद्योग विभाग र कर कार्यालयलाई समेत गराउनुपर्नेमा अहिलेसम्म गराएका छैनन्।

स्वामित्व परिवर्तन हुँदा नेपालको आयकर ऐनअनुसार २५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ। त्यसैले सो २ अर्ब रुपैयाँ रकम छली नै भएको र छली गरेको रकम तिर्नुपर्ने देखिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति