सिमेन्ट र डन्डी उद्योगमा १९ अर्ब ऋण लगानी ४ महिनामै आखिर थपियो कसरी

काठमाडौं , २ पुस । सिमेन्ट र स्टिल उद्योगमा चालू आर्थिक वर्षमा बैंकहरुको ऋण प्रवाह बढेको छ। सिमेन्ट र डन्डी उद्योगमा चालू आर्थिक वर्षको ४ महिनामा मात्रै नयाँ उद्योगको स्थापना र क्षमता थप भएकाले ऋण प्रवाह बढ्दै गएकाले करिब १८ अर्ब ८१ करोड रुपैयाँ ऋण लगानी भएको छ।

चालू आर्थिक वर्षमा स्टिल उद्योगमा १२.३ प्रतिशतले ऋण बढेको र सिमेन्टमा ३.९ प्रतिशतले लगानी बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।यी उद्योगहरुमा ४ महिनामै १४ अर्ब ७७ करोड ऋण प्रवाह भएको हो। गत वर्षको यही अवधिमा सिमेन्ट उद्योगमा ३ अर्ब ६२ करोड रुपैयाँ मात्रै ऋण लगानी भएको थियो भने चालु वर्षको पछिल्लो ४ महिनामा ४ अर्ब ४ करोड रुपैयाँ ऋण लगानी छ।

गत वर्ष कोभिड महामारीको कारण धेरै उद्योग सञ्चालनमै आउन सकेका थिएनन् र चालू आर्थिक वर्षमा केही हदमा बजार चलायमान भएसँगै नयाँ उद्योगको लागि भन्दा पनि उद्योग सञ्चालनको लागि बैंकहरुबाट ऋण लिनेको संख्या बढेको छ ।

स्टिल उद्योगमा पछिल्लो वर्ष बिलेट उद्योगमा थप लगानी बढ्दो छ। चालू आर्थिक वर्षमा बिलेट उद्योगमा सरकारले बजेट प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरन आयातमा पूर्ण छुट दिएसँगै स्पञ्ज आइरनको आयात बढेको छ साथै ऋण प्रवाह बढेको छ ।उद्योगीहरुले बैंकबाट ऋण लिई स्पञ्ज आइरन आयात बढाएको बताएका छन्।

लगानी र ऋण प्रवाह बढीरहँदा गत आर्थिक वर्ष (साउनअघि) सिमेन्ट उद्योगमा कुल १ खर्ब ४ अर्ब रुपैयाँ ऋण लगानी भएकोमा सोही वर्षको कात्तिकसम्म उक्त लगानी १ खर्ब ८ अर्ब रुपैयाँ पुगेको थियो भने चालू आर्थिक वर्षको साउनमा आइपुग्दा उक्त लगानी १ खर्ब १७ अर्ब रहेकोमा हालसम्म अर्थात् गएको कात्तिकसम्म १ खर्ब २२ अर्ब रुपैयाँ लगानी पुगेको छ। आर्थिक वर्ष २०७५/०७६ सम्म सिमेन्ट उद्योगमा ८८ अर्ब ८५ करोड रुपैयाँ मात्रै लगानी रहेको थियो। आव ०७६/०७७ मा १५ अर्ब ८३ करोड रुपैयाँ ऋण लगानी बढ्दा गत आर्थिक वर्षभरिमा १३ अर्ब रुपैयाँ ऋण लगानी रहेको देखिएको छ।

साथै आइरन तथा स्टिल उद्योगमा आर्थिक वर्ष २०७५÷०७६ सम्म ९५ अर्ब ७५ करोड रुपैयाँ ऋण लगानी रहेको थियो भने आव २०७६÷०७७ मा ४ अर्ब ३७ करोड रुपैयाँ ३७ करोड रुपैयाँ ऋण प्रवाह हुँदा १ खर्ब १ करोड ऋण पुगेको थियो साथै गत आर्थिक वर्षसम्ममा आइपुग्दा यस्तो लगानी आकार १ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा २० अर्ब रुपैयाँ ऋण लिएको देखिएको छ।

विभिन्न उद्योगमा ऋण प्रवाह भइरहदा सिमेन्ट र डन्डी उद्योगमा पनि निर्माण क्षेत्र चलायमान हुँदा बैंकहरुको ऋण लगानी रहेकोे राष्ट्र बैंकले जनाएको छ।

गत वर्ष कोभिड महामारीमा रोकिएका निर्माण क्षेत्रको काम चालू आर्थिक वर्षमा बढ्दा साथै निजी आवासमा पनि घर निर्माण हुँदा सिमेन्ट र डन्डीको माग बढ्ने र उत्पादन बढाउन उद्योगले ऋण लिने हुनाले ऋण लगानी बढेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।
कात्तिक महिनामा नेपालको कुल ऋण ४५ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको र चालू आर्थिक वर्षमा मात्रै ३ खर्ब ७२ अर्ब ५६ करोड रुपैयाँ लगानी भएको राष्ट्र बैंकको तथ्यांकअनुसार देखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति