नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न नपाउने व्यवस्था प्रस्ताव

काठमाडौं, २ पुस । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनको मुद्दा पुनः व्यूँतिएको छ । यसअघि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था परिवर्तन गर्दै प्रत्यक्ष निर्वाचित अध्यक्ष हुनपर्ने गरी विधान संशोधन गर्न खोजिएको थियो । लामो समय विधान संशोधनको लफडा चलेपनि संशोधन हुन सकेको थिएन । यो विवाद अहिले पुनः व्यूँतिने भएको छ । विधान संशोधन समितिले बिहीबार महासंघका अध्यक्ष शेखर गोल्छा समक्ष विद्यमान विधान संशोधनको मस्यौदा पेश गरेको छ । महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी सभापति रहने गरी समिति गठन गरिएको थियो । विधान संशोधन समितिका सभापति एवं पूर्वअध्यक्ष जोशीले समितिका तर्फबाट तयार गरिएको विधानको संशोधन मस्यौदा पेश गरेका हुन् । समितिले यस बीचमा ११ महिना लामो गृहकार्य गरी विधानको मस्यौदा तयार पारेको बताइएको छ ।

विधान संशोधन प्रस्तावको मस्यौदामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट अध्यक्षको निर्वाचन हुने उल्लेख गरिएको छ । महासंघकी पूर्वअध्यक्ष भवानी राणा तथा हालका अध्यक्ष शेखर गोल्छा वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बनेका थिए । अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल पनि अब स्वतः अध्यक्ष बन्दैछन् । पुरानो विधान अनुसार निर्वाचित भएकाले ढकाल भने स्वतः अध्यक्ष बन्ने तर त्यसपछि निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष भने स्वतः अध्यक्ष नबन्ने गरी मस्यौदामा प्रस्ताव गरिएको छ । विधान संशोधन प्रस्तावको मस्यौदामा उपाध्यक्ष थप गर्ने समेत उल्लेख गरिएको छ । हाल वरिष्ठ उपाध्यक्ष पछि जिल्ला–नगर, वस्तुगत र एसोसिएटको प्रतिनिधित्व हुने गरी उपाध्यक्ष पद रहेको छ ।

यसमा जिल्ला- नगरबाट एक जना उपाध्यक्ष निर्वाचित हुने विद्यमान व्यवस्थालाई संशोधन गर्दै दुई उपाध्यक्ष बनाउने मस्यौदामा उल्लेख छ । यसबाहेक कार्यसमितिको कार्यअवधि समेत घटाउने गरी विधान संशोधन गर्ने मस्यौदामा उल्लेख गरिएको छ ।

हाल निर्वाचित समितिको कार्यकाल तीन वर्षको हुने व्यवस्था छ । तर अब २ वर्षको मात्रै अवधि बनाउने संशोधन प्रस्तावमा उल्लेख छ ।

विधान संशोधन मस्यौदामा उपाध्यक्षमा उम्मेदवारी दिन कडाइ समेत गर्ने प्रस्ताव गरिएको छ । प्रस्तावित व्यवस्था अनुसार तीन कार्यकाल केन्द्रीय सदस्य भएको व्यक्ति मात्रै पदाधिकारीमा उम्मेदवार बन्न पाउनेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति