सभापतिदेखि सहमहामन्त्रीसम्म ८ जनाको नतिजा यस्तो छ

काठमाडौं, २ पुस । नेपाली कांग्रेसको आगामी ४ वर्षका लागि नयाँ नेतृत्व चुन्न भएको चुनावअन्तर्गत अहिलेसम्म ८ पदाधिकारीको नतिजा आइसकेको छ।

बिहीबारसम्म सभापति, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ३ जना विजयी घोषणा भइसकेका हुन्। अब ८ सहमहामन्त्रीमध्ये ५ जनाको मतगणना आज (शुक्रबार) हुँदै छ। अहिलेसम्मको नतिजाअनुसार दोस्रो कार्यकालका लागि पनि कांग्रेस सभापतिमा विजयी प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका उनीसमेत चार जनाले जितेका छन्। ती हुन्– सभापति देउवा आफैं, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीमा भने उनी पक्षका डा। प्रकाशशरण महत र प्रदीप पौडेल दुवै हारे। अहिलेसम्मको नतिजामा सहमहामन्त्रीमा देउवा पक्षका महिलातर्फ महालक्ष्मी ‘डिना’ उपाध्याय र आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भइसकेका छन्।

यस्तै सभापतिमा पराजित शेखर कोइराला समूहबाट एक जना उपसभापतिमा धनराज गुरुङ विजयी भएका छन् भने दुई महामन्त्रीमध्ये एकमा गगन थापाले जितेका छन्। अहिलेसम्मको नतिजाअनुसार सहमहामन्त्रीमा पनि शेखर समूहका एक जना दलितर्फ जीवन परियार विजयी भएका छन्। यस्तै सभापति पदको प्रतिस्पर्धामा पहिलो चरणको चुनावबाटै फालिएका तथा दोस्रो चरणमा देउवालाई समर्थन गरेका प्रकाशमान सिंह पक्षतर्फ महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका छन्।

यस्तै सभापति पदको प्रतिस्पर्धामा पहिलो चरणको चुनावबाटै फालिएका र दोस्रो चरणमा देउवालाई समर्थन गरेका विमलेन्द्र निधि पक्षमा भने अहिलेसम्म कोही विजयी भएका छैनन्। ​अब पाँच सहमहामन्त्री र १२१ केन्द्रीय सदस्यको नतिजा आउन बाँकी छ। सहमहामन्त्रीको टुंगोपछि कांग्रेसमा केन्द्रीय सदस्यको मत गणना सुरु हुनेछ। सभापतिदेखि केन्द्रीय सदस्यसम्म कांग्रेस केन्द्रीय कार्यसमितिका १३४ पदका लागि गत सोमबार काठमाडौंस्थित राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदान गरिएको थियो। सुरुको निर्वाचनमा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवाले सबैभन्दा बढी मत ल्याए पनि कांग्रेसको विधानबमोजिम कसैको मत ५१ प्रतिशत नपुगेपछि मंगलबार पुनः मतदान गरिएको थियो। त्यसमा शेखर कोइरालालाई हराउँदै दोस्रो कार्यकालका लागि पनि देउवा कांग्रेस सभापति हुन सफल भएका हुन्। अन्य पदका मतगणना भने सोमबार भएकै चुनावको हो। सोमबारको मतदानमा ४ हजार ७४३ मतदातामध्ये ४ हजार ६७९ मतदाताले मतदान गरेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति