कांग्रेस महाधिवेशनको सन्देश–१ : गैरपारिवाकि विरासतवाला नेतृत्वको जन्म !

सम्पादकीय : नेपाली कांग्रेसका विगतका तेह्रवटा महाधिवेशन विपरीत भर्खरै सम्पन्न चौधौं महाधिवेशन केवल नेतृत्व छनोटमा सीमित रह्यो । कुनै पनि राजनीतिक पार्टीको निम्ति राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयनका लागि जति महत्वपूर्ण हुन्छ, त्यसभन्ना कैयौं गुना बढी महत्वपूर्ण हुन्छ समसामयिक र राष्ट्रिय महत्वका तथा जनजीविकासँग जोडिएका मुद्दामा पार्टीको दृष्टिकोणसहितको नीति तथा कार्यक्रम तय गर्ने विषय । त्यही वैचारिक कार्यदिशाका आधारमा पार्टीको घोषणापत्र बन्छ र त्यसैका आधारमा चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ । तर दुर्भाग्य यसपाली महाधिवेशन आयोजना गरेका मुलुककै पहिलो र दोस्रो ठूलो पार्टी नेकपा (एमाले) र नेपाली कांग्रेसले नीतिगत छलफल र वहसको ढोका नै बन्द गरिदिए । अर्थात् विचारको बध गर्न एमाले र कांग्रेस खुशीसाथ तयार भए । यो गम्भीर राजनीतिक विचलन र शून्यवादको छलाङ हो ।
बरु दुवै पार्टीले यथास्थितिवादी नेतृत्वबिना सम्बद्ध दल (अझ देशसमेत) चल्न सक्दैन भन्ने भाष्यमार्फत अध्यक्ष–सभापतिको देवत्वकरण गर्न कुनै कसर बाँकी राखेनन् । यसले दुवै पार्टीका पुनःनिर्वाचित प्रमुखहरु केपी शर्मा ओली र शेरबहादुर देउवा रैथाने विचार र कार्यशैलीका साथ कम्तीमा आगामी चार–पाँच वर्ष पहिलो र दोस्रो प्रमुख पार्टीको नेतृत्वमा रहने भएका छन् ।
यथार्थमा उनीहरु दुवै यथास्थितिवादका वकालतकर्ता हुन् । किनभने पहिलोपटक एमालेमा अध्यक्ष चुनिएर आएपछि ओलीले संसद विघटनदेखि अध्यादेशबाट शासन चलाउने दक्षिणपन्थी गोरेटो कोर्दा देउवा त्यसको सहायक पात्र बनेको कुरा जगजाहेर नै छ । त्यसैले आम जनताका मुद्दा उच्चारणसमेत नगरिएका यी आयोजना–मेला वा भेला केवल सम्बद्ध दलविशेषका भद्दा शक्ति–प्रदर्शन र कुम्भमेला मात्र सावित भए । यसले मुलुकको गिर्दो राजनीति र नेतृत्वको खस्कँदो स्तर प्रमाणित गरेको छ ।
मुलुक अहिले यसभन्दा पहिले कहिल्यै नभोगेको महामारीको विश्वव्यापी संकटको सन्त्रासमा । निकट भविष्यमा । कोरोना संक्रमणको तेस्रो लहर भित्रिन सक्छ भन्ने आधिकारिक भनाइहरु बाहिर आइरहेको सन्दर्भमा त्यसबाट बच्ने रणनीति जति आवश्यक छ, त्यति नै संक्रमण रोकथामका लागि नया“ खोपदेखि बुस्टर डोजसम्म उपलब्ध गराउन ढिला भैसकेको छ । अर्कातर्फ २÷३ महिनादेखि न्यायपालिका संकटग्रस्त छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेको निरन्तर अवरोधका कारण यसअघिको वर्षे र भर्खरै शुरु भएको संसदको हिउ“दे अधिवेशन क्रियाशील हुन सकेको छैन ।
त्यसैगरी विश्वव्यापी आर्थिक मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि पर्न थालेको छ । कुल विदेशी मुद्रा सञ्चिती घटेको छ । यस्ता समसामयिक मुद्दाको सूची बनाउने हो भने निकै लामो बन्न सक्छ । यी यावत् विषयमा सत्तारुढ दलको सबैभन्दा ठूलो वैधानिक फोरमले, जहाँ ७७ जिल्ला र ७५३ पालिकाका प्रतिनिधि उपस्थित थिए, छलफल गर्न आवश्यक ठानिएन । यो मुलुक र आम जनताका सरोकारप्रतिको चरम बेवास्ता नै हो ।
कांग्रेसका यसअघिका १३ ओटा महाअधिवेश हरेकमा कुनै न कुनै विशिष्ट समसामयिक र राजनीतिक मुद्दामा घनीभूत छलफल गरेर प्रस्ताव पारित गरेको नजिर छ । तिनै प्रस्तावका कारण मुलुकको आर्थिक, सामाजिक र राजनितिक जीवनमा सकारात्मक वा नकारात्मक प्रभाव पर्ने गरेको इतिहास छ । तर यसपटक कुनै नीतिगत छलफल नहुनुले कांग्रेस नेतृत्वलाई उसकै ७५ वर्षको विरासत थाम्न धौ धौ पर्न थालेको पुष्टि हुन्छ । तसर्थ यस पटकको कांग्रेस महाधिवेशनले नेताहरु केवल पार्टीको आन्तरिक जीत–हारको कसरतमा मात्र अभ्यस्त रहेको देखायो । यो शक्तिमोह तथा नीतिगत र वैचारिक अस्पस्टताले केवल नेतृत्वको लागि गैर–अगैर सबैखाले तिकड्ममा नेताहरु सरीक हुनुले भोलिको दिनमा पार्टी जोस“ग जे कुरामा पनि सम्झौता गर्दै सत्ता र नेतृत्वमा पुग्न लालायितहरुको झुण्डमात्र सावित हुनेछ ।
सत्तालिप्सामा व्यस्त र अभ्यस्तमा यस्तो झुण्डले जन्माउने कर्पोरेट वर्गले अन्ततः मुलुकलाई अर्को भड्खालोमा जाक्न सक्छ । कांग्रेस मात्र हैन मुलुकको परिवर्तनका लागि प्रगतिशील सोच राख्ने सबैले यो प्रवृत्तिप्रति बेलैमा सचेत हुन जरुरी छ ।
कांग्रेसको महाधिवेशनले दिएको अर्को जर्वजस्त सन्देश के हो भने पहिलो पटक पार्टीभित्रको नेतृत्व कोटरीको पारिवारिक विरासत भत्काइदिएको छ । त्यतिमात्र होइन विपीपुत्र, गणेशमानपुत्र र गिरिजापुत्रीको लज्जास्पद आत्मसर्मणले कांग्रेसले गैरपारिवारिक विरासतबाट अघि बढ्ने ढोका पनि खोलिदिएको छ । पारिवारिक नातामा कोइराला परिवारकै सदस्य भएपनि देउवाका प्रतिद्धन्दी शेखर कोइराला कहिल्यै पनि पारिवारिक विरासतको वैशाखीमा अघि बढेको इतिहास छैन । उनी भुईंतहबाटै कांग्रेसको राजनीतिक शिखरका जर्वजस्त अगुवा बन्न पुगेका छन् । कोइरालाकै वरिपरि देशभरका नेतृत्व परिवर्तनको चाहना राख्ने तरुणहरुको एकाकारले कांग्रेसजनको प्राण वायु भरेको मान्नु पर्दछ । यद्यपि शेखर पक्ष (उनलाई कोइराला पक्ष भनेर कोइराला परिवारको कथित विरासतसंग जोड्न आवश्यक छैन) ले पनि वैचारिक बहसका लागि महाधिवेशन पूर्व पार्टीलाई हिंडाउन कुनै बल नगर्नुले हात्ति र हात्तिछापको छनक भने दिएकै छ । आगामी दिनमा कांग्रेसको परिवर्तनकारी पक्षले सच्याएमा सुखद हुनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board