काठमाडौं, २७ मंसिर । काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि अहिले केहिबेरपछि मतदान प्रक्रिया सुरु हुँदैछ ।
महाधिवेशन आयोजनास्थल भृकुटीमण्डप र प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा मतदानको व्यवस्था मिलाइएको छ । त्यस क्षेत्रमा अहिले विहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनीमार्ग वरपरका पसलहरु पनि खोल्न दिइएको छैन ।भृकुटीमण्डपको मुख्य गेट नै बन्द गरिएको छ । ।भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान केन्द्र बनाइएको छ । मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्रांगणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको छ । मतदाताहरु प्रदेशगत रुपमा गेट बाहिरैबाट लाइनमा बसेका छन् ।सभापतिसहित १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा छन् । कांग्रेसमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । काठमाडौंको भृकुटीमण्डपमा दुई वटा र राष्ट्रियसभा गृहमा एउटा गरी जम्मा तीन ठाउँमा मतदानस्थल निर्माण भएको छ । यता भोट खसाल्न लामबद्ध भएका छन् । त्यही लाइनमा पुगेर उम्मेदवारहरुले मत मागिरहेका छन् ।
महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्रांगणमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समिति सदस्य तेज रावलले बताए ।उनका अनुसार निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिएको छ ।महाधिवेशनबाट सभापति दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री निर्वाचित हुनेछन् । केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट १२१ जना निर्वाचित हुनेछन् ।बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान केही ढिला भएको छ । साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका छ । मतदानका लागि ४ हजार ७ सय ४३ जना प्रतिनिधिको नामावली सार्वजनिक भएको छ ।
प्रतिक्रिया