काठमाडौं, २४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहंकार गर्नेहरूको ओरालो यात्रा शुरू हुने गरेको बताएका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले सबैले मिलेर अघि बढ्नुपर्ने बताए। एक्लै हिडेर देश विकास गर्न नसकिने उनको भनाइ थियो।“एक्लै हिड्ने होइन, राजनीतिक रुपमा प्रतिस्पर्धा भए पनि देश र जनताका लागि मिलेर अघि बढ्नुपर्छ,” दाहालले भने, “अहंकर गर्नेको ओरोलो यात्रा शुरू हुन्छ। इतिहासले यसलाई प्रमाणित गरेको छ।”उनले मञ्चमा उपस्थित नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई इंगित गर्दैै अहंकारको प्रसंग झिकेका थिए।
यसैवीच कार्यक्रममा शान्ति सम्झौताका बाँकी काम सक्न मात्र होइन, परिर्वतनलाई संस्थागत गर्न पनि कांग्रेस र माओवादी केन्द्रबीच गहिरो एकता जरुरी रहेको बताए । ‘कहिलेकाहीँ म सुन्छु, साथीहरु एक्लै हिँड्ने कुरा गर्नुहुन्छ,’ उनले अघि भने, ‘हामी एक्लै हिँड्ने अहंकार कसैले पनि नगरौं ।
हामी मिलेरै हिँड्ने हो ।’राजनीतिक प्रतिस्पर्धा गरे पनि त्यो प्रतिस्पर्धाभित्र एकता खोजिराख्नैपर्ने हुन्छ । ‘अहिले हामीले जे सफलता भनेका छौं, त्यो एकता, गठबन्धनबाट प्राप्त भएको सफलता हो’ प्रचण्डले भने । २०४६ सालको जनआन्दोलन, बृहत शान्ति सम्झौता र ०६२/६३ को सफलता एकताको परिणम भएको भन्दै उनले एक्लै हिँड्ने अहंकार गर्दा ओरालो यात्रा सुरु हुने बताए ।
प्रतिक्रिया