‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई तःबहाल ल्याइयो

ललितपुर, २३ मङ्सिर । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटनको तःबहाल ल्याइएको छ । मच्छिन्द्रनाथलाई छ महिना पाटन र अर्को छ महिना बुङ्मती राखिने चलन अनुसार दिउँसो तःबहाल ल्याइएको हो ।

मच्छिन्द्रनाथलाई पाँच बजे मन्दिर भित्र्याइएको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताए । उनले भने, “हामीले पौने तीन बजे बुङ्मतीबाट करुणामयलाई बोकेर हिडेका थियौँ ।” गुरुज्यूको पल्टनले सलामी दिएपछि आठ जना पूजारी अर्थात पानेजुले मच्छिन्द्रनाथलाई केही सुरक्षाकर्मीसहित बाजागाजा गरेर पाटन ल्याइएको मच्छिन्द्रनाथका मूल पुजारी कमलराज बज्राचार्यले बताए । उनले भने, “भगवानलाई पाटन ल्याउने चार दिन अघिदेखि हामीले एक छाक चोखो खाएर आवश्यक नियम पालना गरेर बसेका थियौँ ।”

यही मङ्सिर ९ गते आफूहरु बसेर हेरेको साइतअनुसार आज मच्छिन्द्रनाथलाई पाटन ल्याइएको मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताएका छन् । किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाएका थिए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएकाे उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति