तपाईंहरु मिल्नोस्, नभए मलाई सन्यास लिन दिनोस्– रामचन्द्र पौडेल

काठमाडौं, २२ मंसिर । नेपाली काँग्रेसको साझा उम्मेदवार तय गर्न बुधबार बसेको संस्थापन इतर पक्षको बैठकमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल आक्रोशित मुद्रामा प्रस्तुत भए । नेताहरु यसैगरी आपसमा नमिल्ने हो भने राजनीतिबाटै सन्यास लिनेसम्मको अभिव्यक्ति नेता पौडेलले बैठकमा व्यक्त गरे । संस्थापन इत्तर पक्षका नेताहरु डा. शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिको उम्मदेवार बन्ने दाबी नछाडेपछि आक्रोशित हुँदै पौडेलले बैठकमा भने, ‘तपाईहरु कि आपसमा मिल्नोस्, कि मेरो नेतृत्व स्वीकार्न तयार हुनोस् ।

आफूहरु पनि नमिल्ने र अरुको नेतृत्व पनि नस्वीकार्ने हो भने मलाई राजनीतिबाटै सन्सास लिन दिनोस् ।’ बरिष्ठ नेता पौडेलको यो आक्रोशबारे बैठकपछि बाहिर निस्केका अर्का नेता डा. रामशरण महतले भने, ‘रामचन्द्रजी आक्रोशित रुपमा प्रस्तुत हुनुभयो ।’नेता सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा सिंह र पौडेलसहित शेखर कोइराला र शशांक कोइरालालगायतको सहभागिता थियो ।

बैठकमा प्रकाशमानले कुनै पनि हालतमा आफूले सभापतिको दावी नछाड्ने भन्दै बरु एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएपछि पौडेल आक्रोशित बनेको नेताहरुको भनाइ छ । सिंहले जस्तै शेखर कोइरालाले पनि अडान नछाड्ने बताएपछि पौडेल थप तनावमा परेका हुन् । केन्द्रीय सदस्य गुरुराज घिमिरेले भोलि पनि सहमतिका लागि आफूहरुले पहल गर्ने र त्यसपछि सभापतिका दावेदारहरुलाई भेटेर सहमतिका लागि दवाव दिने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति