काठमाडौँ, २२ मंसिर । साउदी अरेबियाका पत्रकार जमाल खासोग्जीको हत्यामा संलग्न रहेको आरोपमा फ्रान्सबाट एक व्यक्ति पक्राउ परेका छन्। बीबीसीका अनुसार पक्राउ परेका व्यक्ति साउदी अरेबियाका नागरिक हुन् र उनको नाम खालिद एध अल आतेबी हो। उनलाई मंगलबार चाल्र्स डि गल विमानस्थलबाट पक्राउ गरिएको हो।
खासोग्जीको हत्यामा संलग्न भएको हुन सक्ने आरोपमा टर्कीले २६ जना मानिसको सूची तयार पारेको थियो। जसमध्ये खालिद पनि एक हुन्। उनी साउदी अरेबियाको शाही सुरक्षा गार्ड पनि थिए। उनी आफ्नै नाममा यात्रा गरिरहेका थिए। पक्राउपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ। सन् २०१८ को अक्टोबरमा खासोग्जीको हत्या भएको थियो। उनी साउदी सरकारको कट्टर आलोचक थिए। खासोग्जीले अमेरिकी अखबार वासिङ्टन पोस्टको लागि काम गर्दै आएका थिए।
साउदी अरेबियाले भने उनलाई देश फिर्ता ल्याउन साउदी एजेन्टको एक टिम गएको र यो ‘अभियान’को क्रममा उनी मारिएको बताएको थियो। टर्कीले भने साउदी अरेबियाका शीर्ष पदमा रहेका मानिसको आदेशमा खासोग्जीको हत्या भएको बताएको छ।
प्रतिक्रिया