बागमतीमा काँग्रेस अधिवेशन : निर्वाचन स्थलबाट हटाइयो चुनावी प्रचारका सामग्री


नेपाली काँग्रेस बागमती प्रदेशको नेतृत्वको लागि आज केहीबेरमा मतदान सुरु हुँदै छ । बिहान १० बजेबाट मतदान सुरु हुने निर्वाचन कार्यतालिका रहेको भएपनि मतपत्र छपाई लगायतका काम भइरहेकाले मतदानमा केही समय ढिलो हुने हुने प्रदेश निर्वाचन समितिका निर्वाचन अधिकृत केशवप्रसाद काफ्लेले बताए । हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टि)को खेल मैदानमा मतदानस्थल निर्माण गरिएको छ ।

मतदानलाई छिटो र सहज बनाउनका लागि १० वटा मतदान कक्ष निर्माण गरि सञ्चालनमा ल्याइएको उनले बताए । निर्वाचन समितिले निर्वाचनस्थल वरपर राखिएका उम्मेदवार हरुको चुनावी प्रचार सामग्रीहरु हटाएको छ । निर्वाचन स्थलको मुलगेटबाट मतदान स्थलसम्म राखिएका उम्मेदवारहरुको चुनावी प्रचारप्रसारका सामाग्रीहरु हटाइएको हो ।निर्वाचन स्थल वरपर रहेका निर्वाचान आचारसंहिता विपरितका कार्य गर्न र पर्चा तथा व्यानर राख्न नपाइने निर्वाचन अधिकृत काफ्लेले बताए । कार्यक्रम प्रभावित नहोस् भन्ने उद्देश्यले निर्वाचनस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

निर्वाचनस्थलको सुरक्षार्थ प्रहरी नायव उपरिक्षकको कमाण्डमा करिब २ सय ५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले सुरक्षाको कमाण्ड लिएका छन् । करिब १ सय ९० नेपाल प्रहरी र सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ६० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । मतदानस्थल, निर्वाचन कार्यालय र हेटौंडा बजार क्षेत्रमा पनि सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ भने ट्राफिक व्यवस्थापनका लागि बाक्लो मात्रामा ट्राफिक प्रहरी परिचालन गरिएको छ ।अधिवेशनले ८ पदाधिकारीसहित ९१ सदस्यीय समिति छनौट गर्नेछ । प्रदेश सभापतिमा संस्थापन पक्षबाट नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ, संस्थापन इतर पक्षबाट जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट पूर्वरक्षा मन्त्री भिमसेनदास प्रधान प्रतिस्पर्धामा छन् । अधिवेशनमा १ हजार २४५ केन्द्रीय महाधिवेशन प्रतिनिधि, ८७६ प्रदेश अधिवेशन प्रतिनिधि र १६ केन्द्रीय सदस्य गरी २ हजार १३७ जनाले मतदानमा सहभागि हुनेछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board