सत्ता टिकाउन मुख्यमन्त्री पाण्डेले ८ मन्त्रालय फुटाएर १४ बनाएपनि मन्त्रिपरिषद्ले पाएन पूर्णता

काठमाडौं, १८ मंसिर । सत्ता टिकाउन वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रालय विभाजन गरेका छन्। सत्तारुढ गठबन्धनमा मन्त्रीको भाग पुर्‍याउन ८ मन्त्रालय फुटाएर १४ पुर्‍याइएको छ। गठबन्धनमा आवद्ध दलमा मन्त्रीका आकांक्षी व्यवस्थापनका लागि मन्त्रालय विभाजन गरिएको हो। मन्त्रालय थपको निर्णय राजपत्रमा प्रकाशन भइसकेको छ।

वाग्मतीमा कांग्रेस, नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र लगायतको सरकार गठन भएको छ। एमाले नेतृत्वको सरकार प्रतिस्थापन गर्दै पाण्डेको नेतृत्वमा सरकार बनेको हो। प्रदेशको सुशासन बलियो बनाउन आफ्नो प्राथमिकता रहेको बताउने मुख्यमन्त्री पाण्डले सरकार टिकाउनैको लागि मन्त्रालय फुटाएका हुन्। मन्त्रालय बढेसँगै मन्त्री, सचिव र स्वकीय सचिवहरुको संख्या समेत बढ्ने छ।

जसको भार राज्यकोषमा पर्नेछ।अब प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित प्रदेशमा आन्तरिक मामिला तथा कानुन, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी मन्त्रालय रहनेछन्। यस्तै, खानेपानी ऊर्जा तथा सिँचाइ, संस्कृति तथा पर्यटन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार विकास, श्रम रोजगार तथा यातायात, यूवा तथा खेलकुद, वन तथा वातावरण, सामाजिक विकास र स्वास्थ्य मन्त्रालय रहनेछन्।केन्द्र सरकारको मन्त्रीमण्डल नै १२ सदस्यी बनाउन विज्ञले सुझाव दिइरहेका बेला प्रदेशहरुले धमाधम मन्त्रालय फुटाएका हुन्। यसअघि सत्ता भागबन्डाका लागि अन्य प्रदेशमा पनि मन्त्रालय विभाजनको काम भइसकेको छ।

मन्त्रिपरिषद्ले पाएन पूर्णता

गठबन्धन नेतृत्वमा सरकार गठन भएको ५ साता बितिसक्दा समेत पाण्डे नेतृत्वको सरकारले पूर्णता पाउन सकेको छैन । गत कात्तिक ११ गते एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार विस्थापित गरेर गठबन्धनका दलहरूको समर्थनमा सरकारको नेतृत्व लिएका मुख्यमन्त्री पाण्डेले ३९ दिनसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैन ।

गत कात्तिक २२ गते संसद्बाट विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्री पाण्डेले एक साता भित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका थिए । उनलाई गठबन्धनमा आबद्ध दलहरू बीच मन्त्रालयको भागबण्डा मिलाउन नसक्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन सकस परिरहेको छ ।

यसैबीच मुख्यमन्त्री पाण्डेले दुई चरणमा गरी ५ जना मन्त्री नियुक्त गरिसकेका छन् । हाल बागमती प्रदेशमा ६ सदस्यीय मन्त्रिपरिषद् कायम रहेको छ ।

मुख्यमन्त्री नियुक्त भएकै दिन ३ मन्त्रीसहित सरकार सञ्चालनमा लागेका मुख्यमन्त्री पाण्डेले गत कात्तिक २५ गते सरकारमा २ मन्त्री थप गरेका थिए । मुख्यमन्त्री पाण्डेले पहिलो चरणमा दलका उपनेताहरूलाई मन्त्री नियुक्त गरेका थिए । उनले प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका उपनेता कृष्ण प्रसाद खनाल, सामाजिक विकास मन्त्रीमा नेकपा माओवादी संसदीय दलकी उपनेता कुमारी मोक्तान र भौतिक पूर्वाधार विकास मन्त्रीमा काँग्रेस संसदीय दलका उपनेता कृष्णलाल भडेललाई नियुक्त गरेका थिए ।

त्यस्तै दोस्रो चरणमा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र स्वास्थ्य मन्त्रीमा नेपाली काँग्रेसका निमा लामालाई नियुक्त गरेका थिए । अन्य दुई मन्त्रालय आफू मातहतमा राखेका थिए । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय आफू मातहत राखेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board