विज्ञ भन्छन्ः नयाँ भेरियन्टबाट जोगिन फ्रन्टलाइनरलाई बुस्टर डोज लगाऔँ

काठमाडौं, १५ मंसिर । कोभिड–१९ कोे नयाँ भेरियन्ट ओमिक्रोन विभिन्न मुलुकमा फैलिन थालेसँगै सतर्क हुनुपर्ने जनस्वास्थ्य विज्ञहरुले बताएका छन्। नोभेम्बर २६ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको बताएको थियो। दक्षिण अफ्रिकामा पहिलोपल्ट देखिएको यो भेरियन्ट हालसम्म २० देशमा देखिसकेको डब्लूएचओले जनाएको छ।

हालसम्म दक्षिण अफ्रिका, बोत्स्वाना, अस्ट्रेलिया, जापान, बेल्जियम, डेनमार्क, इटाली, स्पेन, पोर्चुगल, बेलायत, जर्मन, हङकङ, क्यानडा, नेदरल्यान्ड्सलगायतका मुलुकमा देखिसकेको छ। नेपालका छिमेकी देशहरु भारत र चीनसहित दक्षिण एसियामा भने हालसम्म यो भेरियन्ट पुष्टि भएको खबर सार्वजनिक भएको छैन। डब्लूएचओका अनुसार अहिलेसम्म यो भेरियन्ट यसअघि भेटिएका अन्य भेरियन्टको तुलनामा कति संक्रामक भन्ने स्पष्ट छैन।

पहिलोपटक भेटिएको भनिएको दक्षिण अफ्रिकालगायतका केही देशमा यसको संक्रमण बढी देखिएको छ। तर सो क्षेत्रमा संक्रमण देखिनुको कारण यो भेरियन्ट संक्रामक नै भएर हो वा अरु कारक छन्, खुलेको छैन। संक्रमण रोग विशेषज्ञ डा। प्रभात अधिकारीका अनुसार संक्रमण भइसकेकालाई पनि यो भेरियन्टले पुनः संक्रमण गराएको पाइएको छ। ‘संक्रमण भइसकेकालाई पुनः संक्रमण गराएको पाइएको छ,’ अधिकारीले भने, ‘डेल्टा भेरियन्ट जस्तै म्युटेन्टहरु पाइएकाले यो चाँडै फैलन्छ कि भन्ने अनुमान गरिएको छ। कति गम्भीर बनाउँछ भन्ने अहिले थाहा छैन। डब्लूएचओले हाइअलर्टमा बस्न भनेको छ।’

डब्लूएचओले यस भेरियन्टबारे आफ्नो वेबसाइटमा उपलब्ध गराएको सामग्रीअनुसार पछिल्लो समय दक्षिण अफ्रिका लगायत विभिन्न स्थानमा अस्पताल भर्ना हुने क्रम बढ्दो छ। तर, संक्रमितको संख्या पनि सोही अनुपातमा बढेको छ। त्यसैले यो भेरियन्टकै कारण अस्पताल भर्ना भएका हुन् भन्ने पुष्टि हुन बाँकी छ।

ओमिक्रोन भेरियन्टले धेरैजसो विश्वविद्यालय विद्यार्थीहरु र युवा समूहलाई संक्रमण गरेको र उनीहरुमा पनि सामान्य लक्षणमात्रै देखिएको डब्लूएचओले जनाएको छ। यसका लक्षण कति गम्भीर देखिन्छ भन्ने जानकारीका लागि केही साता कुर्नुपर्ने डब्लूएचओले उल्लेख गरेको छ।

अहिले उपलब्ध खोपहरु यस भेरियन्टमा कति प्रभावकारी हुन्छन् भन्ने विषय पनि अनुसन्धानकै क्रममा छ। यसअघि भेटिएकामध्ये सबैभन्दा संक्रामक मानिएको डेल्टा भेरियन्टमा भने अहिले उपलब्ध खोपहरु नै प्रभावकारी देखिएका थिए। मंगलबार अमेरिकी कोरोना खोप निर्माता कम्पनी मोडर्नाका सीईओ स्टिफेन बान्सेलले ओमिक्रोन भेरियन्टमा कोरोना खोपले काम गर्न नसक्ने आशंका व्यक्त गरेका थिए। उनको अभिव्यक्तिसँगै अहिलेका खोपहरु प्रभावकारी हुनेमाथिको आशंका बढेको छ।

डा. अधिकारीले नयाँ भेरियन्ट भन्दैमा डराउन नपर्ने तर सर्तक हुनुपर्ने बताए। उनले भेरियन्ट भित्रिनुअघि नै कम्तीमा फ्रन्टलाइनरलाई बुस्टर डोज लगाउन सुझाव दिए।

‘खोपको म्याद कम्तीमा ६ महिना भनिएको छ। गत वर्ष नै खोप लगाएका फ्रन्टलाइनरहरुको म्याद सकिइसक्यो,’ डा। अधिकारीले भने, ‘अब नयाँ भेरियन्ट आउनुअघि नै उनीहरुलाई बुस्टर डोज लगाउन सकिए ढुक्क हुन सकिन्छ।’ जोनसोन एन्ड जोनसोन खोप लगाएकाहरुलाई भने २ महिनामै बुस्टर डोज दिनुपर्ने डा।अधिकारीले बताए। दक्षिण अफ्रिकामा युवा समूहमा बढी असर देखिएकाले विद्यार्थी तथा काममा जाने युवा उमेर समूहका व्यक्तिहरु बढी सचेत हुनुपर्ने उनको सुझाव छ।

‘सरकारले विमानस्थल र अन्तर्राष्ट्रिय नाकामा पनि जाँच र क्वारेन्टिनको व्यवस्था गर्नुपर्छ,’ उनले सुझाव दिए, ‘खोप नलगाएकालाई सक्दो छिटो खोप लगाइदिँदै भाइरसको पहिचान गर्न जिन सिक्वेन्सिङ तथा सेरोप्रिभेलेन्स सर्वेलाई निरन्तरता दिनुपर्छ।’जनस्वास्थ्यविद् तथा अनुसन्धाता डा. समीरमणि दीक्षितले यस भेरियन्टबारे विस्तृतमा जानकारी पाउन अझै कम्तीमा तीन साता कुर्नुपर्ने बताए। सबैलाई मास्क अनिवार्य गर्नुपर्नेमा उनले जोड दिए।

‘यसअघि पनि विमानस्थल र सीमामा कडाइ गर्दागर्दै पनि संक्रमण छिरेकै थियो। नाकामा जति कडाई गरेपनि रोग रोकिने होइन,’ उनले भने, ‘सबैलाई मास्क अनिवार्य गरौँ। खोप बढीभन्दा बढीलाई लगाऔं।’स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरमणि अधिकारीले यस भेरियन्टलाई डब्लूएचओले पनि ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको बताउँदै सावधानी अपनाउन आवश्यक रहेको बताए। ‘हालसम्म यो भेरियन्ट नेपालमा फेला परेको छैन तर हामीले सचेत हुनुपर्छ,’ उनले भने, ‘आवश्यक निगरानी तथा परीक्षणको दायरा फराकिलो पारिएको छ।

यो भेरिएन्ट नेपाल प्रवेश गर्न नदिन सबै पूर्व तयारीमा मन्त्रालय जुटिसकेको छ।’उनले यस भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न, जनस्वास्थ्यका मापदण्ड पालना गरिदिन र सतर्क रहन सबैलाई अनुरोध गरे। सरकारले पनि यस भेरियन्टलाई नेपाल प्रवेश गर्न नदिन यात्रा व्यवस्थापन आदेश जारी गर्ने जनाएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन भेरिएन्ट रोक्न ‘यात्रा व्यवस्थापन आदेश’ गर्न लागेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ेजानकारी दिएका थिए। उक्त आदेशमा दक्षिण अफ्रिकाबाट आउने यात्रुलाई रोक लगाउने निर्णयसमेत गर्न सकिने मन्त्री कार्कीले बताएका थिए।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board