ओमिक्रोनबारे दक्षिण अफ्रिकी अनुसन्धानकर्ता -प्रतिबन्ध होइन, सहकार्य गरौ

काठमाडौँ — अहिले विश्व कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण त्रसित छ । सबैभन्दा पहिला यो भेरियन्ट दक्षिण अफ्रिकी मुलुक बोत्सवानाले रिपोर्ट गरेको दाबी गरिएको छ । दक्षिण अफ्रिकाले केही दिन अघि विश्वलाई यस भाइरसबारे बताएपछि विश्वभर नै हलचल मच्चिएको छ । हाल दक्षिण अफ्रिकाका देशहरू मात्रै नभएर विश्वका २० देशमा यो भेरियन्ट फेला परिसकेको छ । यससँगै धेरै देशले दक्षिण अफ्रिकी मुलुकका साथै यो भेरियन्ट देखिएका मुलुकसँग आफ्नो सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका छन् ।

कोभिड-१९ को दक्षिण अफ्रिकी मन्त्रीस्तरीय पूर्व सल्लाहकार तथा सेन्टर फर एड्स प्रोग्राम अफ रिसर्च इन साउथ अफ्रिका(क्याप्रिसा)का निर्देशक प्राध्यापक सलिम अब्दुल करिमसँग चिकित्सा विज्ञान विषयमा विश्वकै प्रतिष्ठित जर्नलको लान्सेटुको द लान्सेट भोइसुले ओमिक्रोनको खोज र विश्वले देखाएको प्रतिक्रियाबारे गरेको कुराकानीको अनुदित अंश :

ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिला बोत्सवानाले रिपोर्ट गरेको हो । त्यसको केही समयपछि दक्षिण अफ्रिकाको प्रेटोरियाको एक विश्वविद्यालयमा सानो आउटब्रेक देखियो । त्यहाँ अध्ययनरत केही विद्यार्थी संक्रमित भए र उनीहरुले एक निजी प्रयोगशालामा परीक्षण गराए । प्रयोगशालाले तीनवटा जीनको परीक्षण गर्दा त्यसमा एस जीन देखिएन । जसका कारण सुरुमा यो अल्फा भेरियन्ट हो किन भन्ने भयो र उक्त प्रयोगशालाले सिक्वेन्सिङ गरेर दक्षिण अफ्रिकामा जिनोम सिक्वेन्सिङ गर्नका लागि तयार पारिएको समूहमा पठाए । त्यसपछि भने यो नयाँ भेरियन्ट रहेछ भन्ने थाहा भयो । साथै, यो सबैभन्दा पहिलो बोत्सवानाले रिपोर्ट गरेको सिक्वेन्सिङसँग मेल खान्छ भन्ने स्पष्ट भयो ।

त्यसपछि मैले तथ्यांक हेरें । जसमा ५० भन्दा बढी उत्परिवर्तन भएको स्पष्ट देखिन्थ्यो । त्यसपछि तुरुन्तै अरु नमुना पनि संकलन गर्न सुरु गरियो । जसमा एस जीन ट्रार्गेट फेलियर भएका नमुनाहरुको खोजी गर्न थाल्यौं । हामी कहाँ यो भेरियन्ट कतिको फैलिएको छ भनेर थाहा पाउन सकियोस् । हामीले दुई दिनमै यो भेरियन्टका धेरै केसहरु छन् भन्ने थाहा पायौं ।

नयाँ भेरियन्टको आउटब्रेक देखिएको तथ्यांक हामीले तत्कालै विश्व स्वास्थ्य संगठनलाई पठायौं र विभिन्न निकायहरुसँग छलफल पनि सुरू गर्‍यौं । त्यसपछि डब्लूएचओले यसको नामांकरण गर्‍यो, ओमिक्रोन ।

यो ओमिक्रोन भेरियन्टको सबैभन्दा रोचक पक्ष के हो भने, यसमा धेरै उत्परिवर्तन मात्रै होइन कि पहिलाका चारवटा मुख्य भेरियन्टमा देखिएका गुणहरु पनि समावेश छ । अल्फा भेरियन्टमा देखिएको एस जीन ट्रागेट फेलियर, बिटा र गामामा देखिएको तीनवटा मुख्य उत्परिवर्तन जसले गर्दा शरिरको रोग प्रतिरोधी क्षमतालाई छल्न सक्ने क्षमताको विकास भाइरसमा हुन्छ । साथै डेल्टा भेरियन्टमा रहेका उत्परिवर्तनहरु पनि यसमा देखिएका छन् ।

यसको मतलब ओमिक्रोनमा अरु भेरियन्ट अफ कन्सर्नका गुणहरु पनि छन् । त्यसकारण यसको स्वभाव सबै भेरियन्टसँग मिल्छ । जसले गर्दा नै हामी सबैजना यो भेरिन्टलाई लिएर यति धेरै चिन्तित भएका हौं । ओमिक्रोनका बारे केही पनि आँकलन गर्नु अहिले धेरै नै चाँडै हुन्छ । किनभने हामीले यसबारे थाहा पाएको केवल केही दिन मात्रै भयो । हाल हामीसँग यसलाई लिएर कुनै पनि विश्वनिय वैज्ञानिक तथ्यांक उपलब्ध छैन । तर, उत्परिवर्तनलाई हेरेर हामी यसका गुणहरु कस्ता हुनसक्छन् भनेर थोरै भएपनि विश्लेषण भने गर्न सक्छौं ।

यसमा डेल्टा भेरियन्टमा देखिएका केही उत्परिवर्तन र त्यसमा पनि केही थप उत्परिवर्तन देखिएकोले डेल्टा भेरियन्ट जस्तै संक्रामक हुनसक्ने सम्भावना प्रबल छ । तर, डेल्टाभन्दा बढी संक्रामक हुन्छ कि हुँदैन अहिले भन्न सकिन्न । त्यसका लागि यो कति जनसंख्यामा फैलिन्छ त्यो कुर्नै पर्ने हुन्छ ।

कुनैपनि भाइरस धेरै फैलिनका लागि त्यसले धेरै कडा रोग विकसित गर्नु हुँदैन । धेरै कडा रोग हुने बित्तिकै संक्रमितहरु अस्पताल जान्छन् वा घरै बस्छन्, डुलेर हिँड्दैनन् । तसर्थ विकासक्रमको सिद्धान्तलाई मान्ने हो भने यसले कडा प्रकारको रोग लगाउने सम्भावना कम हुनुपर्छ । तर, फेरि पनि अन्तिम निष्कर्षका लागि वैज्ञानिक तथ्यांकको अध्ययन गर्न जरुरी हुन्छ । र, अहिलेसम्म यहाँका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अन्य कोभिडका बिरामी र ओमिक्रोनबाट संक्रमित बिरामीमा तुलनात्मक भिन्नता नदेखिएको बताएका छन् । यो पनि एकदमै प्रारम्भिक कुरा हो । यो नै सम्पूर्ण तथ्य भने होइन ।

यस्तै, खोपले ओमिक्रोनबाट सुरक्षित राख्छ या राख्दैन भन्ने प्रश्नमा, यसमा धेरै एन्टिबडीलाई छल्ने क्षमता छ । संक्रमण भएका कारण कुनैपनि व्यक्तिमा विकसित भएको रोग प्रतिरोधात्मक क्षमता समयसँगै घट्दै जान्छ भन्ने पुष्टि भइसकेको छ । त्यसैले संक्रमित भएका तर खोप नलगाएका व्यक्तिहरु पुनस् संक्रमित हुने सम्भावना धेरै नै छ । र, प्रारम्भिक रुपमा पनि हामीले धेरै पुनस् संक्रमण भएका बिरामीहरु देखिरहेका छौं । तर, फेरि पनि यो प्रारम्भिक कुरा नै हो । वैज्ञानिक तथ्यांकको विश्लेषण भने होइन ।

खोप लगाएकाहरुमा पनि इम्युन इस्केपु (प्रतिरोधी क्षमता छल्ने)हुने सम्भावना छ । खोपले विकास गरेका सबै एन्टिबडी यसले छल्न सक्दैन । तर, केहीलाई भने छल्न सक्छ । त्यसको पनि वैज्ञानिक विश्लेषण हुनैपर्छ । अनि मात्रै यकिन साथ भन्न सकिन्छ ।

यी सबै सम्भावनाका कुरा मात्रै हुन् । तर एउटा तथ्य के हो भने जुनसुकै खोपले पनि जटिल प्रकारको कोभिड लाग्न र अस्पताल भर्ना हुनबाट धेरै हदसम्म जोगाउन सक्छ ।

यसमा दर्जनभन्दा बढी अन्य भेरियन्टमा देखिएका उत्परिवर्तनहरु छन् । यस्तै, केही दर्जन उत्परिवर्तनका बारेमा हामीले थोरै भएपनि जानकारी छ । र, केही दर्जन यस्ता उत्परिवर्तन पनि छन् जसका बारेमा हामीलाई केही थाहै छैन । जसका कारण मैले भनेका सम्भावनाका कुराहरु पूरै गलत प्रमाणित पनि हुन सक्छन् । तर, अहिले देखिएका सम्भावनाहरुलाई आधार मानेर हामीले पूर्व तयारी गर्न सक्छौं ।

तसर्थ, विश्वले जुन प्रकारले यो भेरियन्ट प्रति प्रतिक्रिया देखाइरहेको छ यसले अन्ततस् विज्ञानलाई पराजित गर्छ । पारदर्शिता प्रति त्यस प्रकारको प्रतिक्रियाले प्रश्न खडा गरेको छ । यसले कस्तो सन्देश दिन्छ भने, यदी तपाईंले धेरै सिक्वेन्सिङ गरेर नयाँ भेरियन्ट रिपोर्ट गर्नुहुन्छ भनेपनि सबै विश्वलाई त्यसका बारेमा नबताउनुस् । विश्वले तपाईंलाई त्यसका लागि सजाय दिनसक्छ ।

अहिलेको यो अवस्था आउनुमा विश्वका विकसित मुलुकहरु धेरै जिम्मेवार छन् न कि गरिब अफ्रिका । किनभने उनीहरुले आफूलाई चाहिनेभन्दा धेरै खोप जम्मा गरेर बसिरहेका छन् । खासमा भन्ने हो भने हामी विश्व महामारीको त्रासलाई उचित रुपमा सम्बोधन गर्नबाट चुकेका छौं ।

हामीले डेल्टा भेरियन्टबाट के थाहा पाइसकेका छौं भने यात्रा माथि प्रतिबन्ध लगाउँदा सुरुमा संक्रमण फैलिने दरलाई केही कम गर्न त सक्छौं । तर, पूर्ण रुपमा यो रोकिनेवाला भने छैन । अहिले नै ओमिक्रोन २० भन्दा बढी देशहरूमा देखिएको तथ्य त बाहिर आइसकेको छ । अब अहिले दुई हप्ता अगाडि देखि नै यो भाइरस विश्वका विभिन्न देशमा देखिन थालिसकेको पनि देखिएको छ । कुनैपनि भाइरस फैलिनुमा कसैको पनि गल्ती हुँदैन । त्यो त भाइरसको गुण नै हो ।

यात्रामा प्रतिबन्ध लगाउनुभन्दा हामीले गर्नुपर्ने त यात्रालाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर त्यसका उपायहरु अवलम्बन गर्नु हो । ती उपायहरु अहिले सबैले प्रयोग गरिरहेकै छन् । सकेसम्म खोप लगाएकाहरुले मात्र यात्रा गर्ने, यात्रा गर्नु अघि पीसीआर परीक्षण निगेटीभ हुनुपर्ने, मास्कको प्रयोग यात्राभर गर्नैपर्ने व्यवस्थाको पालना हुनैपर्छ । यी उपाय पूर्ण रुपमा अवलम्बन गरे त विश्वको कुनैपनि कुनामा देखिएको भाइरसबाट जोगिन मद्दत पुग्छ ।

कोरोना भाइरसको भेरियन्ट कसरी विकसित हुन्छ भन्ने हामीलाई थाहा भइसकेको छ । सामान्यरुपमा भन्दा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति अन्य कुनै स्वास्थ्य व्यक्ति भन्दा धेरै साता र महिनासम्म यो भाइरसबाट ग्रसित हुनसक्छ र त्यहीँ नयाँ भेरियन्ट बन्ने सम्भावना हुन्छ । हामीले दुईजना व्यक्तिमा अध्ययन गर्दा एकजनामा सात महिनासम्म संक्रमण रहेको सो व्यक्तिमा रहेको भाइरसमा ३० भन्दा बढी उत्परिवर्तन भएको पाइएको थियो ।

त्यसैले हामीले संसारको कुनैपनि कुनमा रहेका रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई पत्ता लगाएर प्रतिरोधी क्षमता विकास नभएसम्म खोप दिन जरुरी देखिन्छ । उनीहरुलाई नै बुस्टरको पनि धेरै आवश्यकता पर्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board