महत र शर्मालाई छिटो निर्णय गरेर नफस्न सभापति देउवाको आग्रह

काठमाडौं, १४ मंसिर । पार्टीको महाधिवेशन नजिकिएका बेला प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सहमहामन्त्री प्रकाशशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा आज एकै मञ्चमा देखिए।महत र शर्मा सभापति देउवा पक्षमै छन्। तर उनीहरू मंसिर २४ देखि २७ मा हुने कांग्रेसको १४ औं महाधिवेशनमा उक्त समूहबाटै महामन्त्री पदका दाबेदार छन्।पछिल्लोसमय महत र शर्माले महामन्त्रीमा उम्मेदवारी दिन तयारी तीव्र पार्दै लगेका छन्।

उनीहरूले सभापति देउवासँग आफू महामन्त्रीमा लड्ने पनि बताइरहेका छन्।सभापति देउवालाई महत र शर्माले केही विषयमा सुझावसमेत दिएका थिए। शर्माले एकै व्यक्ति लामो समयसम्म पदमा बस्न नहुनेमा जोड दिए भने महतले सभापति देउवाले निर्णय गर्न नसक्ने भन्दै कमजोरीको पाटो केलाएका थिए।

शर्माले महामन्त्री पदमा उम्मेदवारी दिएसँगै राजनीतिमा रूपान्तरणजस्ता विषय समेटेर दस्ताबेजसमेत सार्वजनिक गरिसकेका छन्।शर्माले दस्ताबेजमा अगाडि सारेकै विषयलाई आज देउवाका सामु सुनाए। शर्माले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चारपटक सांसद मात्र बन्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव अगाडि सारेका थिए।आज प्रवक्ता शर्माले दुई विषय महत्वपूर्ण ढंगले उठान गरेका थिए। उनले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिन्छु भन्दै कुरा अघि बढाएका थिए।

‘म हाम्रै सभापतिजीलाई सल्लाह दिन चाहन्छु। अर्को कमरेड केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेतालाई सुझाव दिन चाहन्छु। प्रतिपक्षी दलका नेताले एमाले महाधिवेशनमा आफ्नो विपक्षमा उठेका उम्मेदवारलाई भोट माग्दै गर्दा रोकेको देखियो। उहाँ (ओली) को बोलीमा पनि सहिष्णुता छैन, गालीबाट सुरू भएर गालीमा अन्त्य हुन्छ। विपक्षी उम्मेदवारले प्रचार गर्न पाउँछ, यो नेपाल हो उत्तर कोरिया होइन भन्ने उहाँले बुझ्नुपर्‍यो,’ शर्माले ओलीलाई सुझाव दिँदै भनेका थिए।शर्माले सभापति देउवालाई पनि सल्लाह दिएका थिए।‘तपाईं पाँचपटक प्रधानमन्त्री भइसक्नुभयो। ज्योतिषले भनेको भन्दै सात पटकसम्म प्रधानमन्त्री हुन्छु भनेर आफैँ भन्नुहुन्छ। महामन्त्रीमा उम्मेदवारी घोषणा गरेपछि म विभिन्न जिल्लाहरूमा जाँदा विश्वप्रकाशहरूको पुस्तामा कतिपटक पदमा बस्ने योजना छ भनेर सोध्ने गर्छन्। वान, टू, थ्री, फोरको सिष्टम बनाउँछौं भनेर मैले भन्ने गरेको छु,’ शर्माले भने, ‘त्यसकारण म सभापतिलाई सुझाव दिन चाहन्छु- तपाईं पाँचपटक प्रधानमन्त्री हुनुभयो। अब त्यसखाले सिष्टमका लागि तपाईंहरूले समर्थन गर्नुपर्‍यो। ताकी विश्वप्रकाशहरूको पुस्तामा तपाईंले जस्तो धेरैपटक पदमा बस्नु नपरोस्। दुई पटक पदमा बसेर बिदा होऊन्। नयाँ पुस्ताहरू पार्टीमा आकर्षित होऊन्। त्यसले देश निर्माणको अभियानलाई गति दिओस्।’

यसपछि सहमहामन्त्री प्रकाशशरण महतले सभापति देउवाले केही निर्णय गर्नुपरे छिटो नगर्ने भन्दै टिप्पणी गरेका थिए।महत र शर्माका कुरा ध्यान दिएर सुनेका देउवाले आफ्नो सम्बोधनका क्रममास् उनीहरूलाई हतार नगर्न आग्रह गरेका थिए। शर्माले महत्वपूर्ण कुरा उठाएको देउवाको भनाइ थियो।‘विश्वप्रकाशजीले अत्यन्त महत्वपूर्ण कुरा उठाउनुभएको छ। उहाँले आफ्नो बेलामा अपनाउनुभयो भने तपाईंहरूले धन्यवाद दिनुहोला,’ देउवाले शर्मालाई जवाफ दिँदै भने, ‘अरूलाई अर्ति दिन सजिलो छऽ आफूलाई गर्न गाह्रो छ। उहाँले आफ्नो बेला गर्नुहोला भन्ने शुभकामना दिन चाहन्छु।’

सभापति देउवाले शर्मालाई अहिले नै नहतारिन आग्रह गरेका थिए। ‘अहिले नै नहतारिनुस्। अहिले हतारिएर के गर्नुहुन्छ पछिरु,’ देउवाको भनाइ थियो, ‘समय आइहाल्छ नि’यसपछि सहमहामन्त्री महतका कुरामाथि देउवाले जवाफ दिएका थिए।‘त्यस्तै प्रकाश महतजीले पनि भन्नुभयो( निर्णय गर्न सक्दैन। ढिलो ढिलो गर्छ भनेर,’ उनले भने, ‘निर्णय भनेको सोचे विचार गरेर गर्नुपर्छ। निर्णय गरेर पछुताउनुभन्दा ढिलो निर्णय गर्नु वेश हो।’ सभापति देउवाले पार्टीको नेता हुने तयारी गरिरहेका महत र शर्मालाई छिटो निर्णय गरेर नफस्न पनि आग्रह गरेका थिए। ‘छिटो निर्णय गर्दा फस्नुहोला,’ उनले भने, ‘नेता हुने इच्छा तपाईंहरूको छ।

भविष्यमा तपाईंहरू सफल हुनुस् भन्ने मेरो सद्भाव पनि छ। शुभकामना पनि छ।’महत र शर्मालाई सभापति देउवाले बुढापाकाका कुरा र अर्ति सुन्न पनि आग्रह गरेका थिए।‘अर्ति भनेको बुढापाकाको सुन्नुपर्छ क्या, बुढापाकालाई अर्ति दिने होइन, सुन्ने हो। हतार नगर्नुस् समय आउँछ,’ देउवाले भने, ‘सुवर्णशम्शेर, बिपी, गणेशमान र किसुनजीहरूले हतार गर्नुभएन। तपाईंहरूको पनि समय आउँछ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board