धनगढी विमानस्थलको जग्गा अधिग्रहण गर्नेः मन्त्री आले

धनगढी, १४ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको धावन मार्गका लागि चाहिने जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् । धनगढी विमानस्थलको सोमबार निरीक्षण गर्दै उनले आवश्यक जग्गा अधिग्रहणको प्रक्रियासहितको फाइल तत्काल मन्त्रालयमा पेश गर्न निर्देशन दिएका हुन् ।

निरीक्षणकै क्रममा मन्त्री आलेले विमनस्थलमा रहेका पुराना भौतिक संरचनादेखि अन्य नयाँ निर्माण गर्नुपर्ने संरचनाका विषयमा पनि लेखेर पठाउन निर्देशन दिने विमानस्थलका प्रमुख रामकृृष्ण भट्टले बताए । उनले भने, “मन्त्रीले विमानस्थलको धावनमार्गदेखि अन्य संरचना निर्माणका लागि चाहिने जग्गा अधिग्रहणको काम अघि बढाउन निर्देशन दिएका छन्, नागरिक उड्डयन प्राधिकरणले सो विषयका सबै फाइल तयार गरी केही दिनमा मन्त्रालयमा पेश गर्नेछ ।”

धनगढी विमानस्थल विस्तारका लागि कूल ३११ बिघा जग्गा आवश्यक छ । यसका लागि २२८ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय धनगढीले जनाएको छ । अहिले विमानस्थलसँग कूल ८३ बिघा जग्गा छ । क्षेत्रीयस्तरको विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणको काम गर्न थालिएको हो । सोही क्रममा मन्त्री आलेले विमानस्थलमा यात्रुलाई राख्ने ठाउँ साघुँरो भएकाले त्यसलाई फराकिलो बनाउन निर्देशन दिए । पहाडी जिल्लामा हवाइ उडान सुरु भएकाले यात्रुको चाप बढेको छ । विमानस्थलमा यात्रु बस्ने ठाउँ अभाव भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति