काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्द सत्र नभइ ओली सेसन चलिरहेको बताएका छन् ।
आज आइतवार नेपाली कांग्रेस काठमाण्डौ जिल्ला कार्यसमितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्द सत्र नभइ ओली सेसन चलिरहेको बताएका हुन । उनले नारायणी किनारमा अहिले कोही पनि स्वतन्त्र हुन नसकेको बताउँदै प्रतिस्पर्धाबाट एक्लिएका भीम रावललाई प्रहरीले सुरक्षा दिइरहेको बताए । उनले नेकपा एमालेमा अब ‘जनवाद’ सकिएको र केपी शर्मा ओलीको ‘डनवाद’ सुरु भएको आरोप लगाए ।
नेता थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरेका काम हेर्दा आफूलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेन जस्तो लागेको भन्दै ओलीको आदर्श पुरुष हुन सेन रहेको आरोप लगाए । हुन सेनको विरुद्धमा लेख्ने र बोल्नेले आफ्नो काम छाडेर बिदा हुनुपरेको भन्दै नेता थापाले ओलीको विपक्षमा खडा हुने व्यक्ति मञ्चबाट नै भीम रावलको जसरी लखेटिने बताए । उनले चितवन महाधिवेशनपछि नेतृत्वमा आएको नेकपा एमालेलाई कांग्रेसले तह लगाउने बताए। नेता थापाले १० औँ महाधिवेशनपछि नेतृत्वमा आउने एमालेले जनवाद गुमाएर देशको प्रजातन्त्र सक्ने बाटोमा अघि बढेर आउने आरोप लगाए । उनले एमाले अहिले बरालिएको भन्दै बरालिएको एमालेलाई सही ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्ने ल्याकत कांग्रेसले राख्नुपर्ने बताए ।
नेता थापाले भने , ‘हामीले के कुरा बुझ्नुपर्छ भने नेकपा एमालेले राष्ट्रिय राजनीतिमा लिने स्थान, उसले लिने राजनीतिक कार्यदिशाले नेपाली कांग्रेससँग धेरै ठूलो महत्त्व राख्छ । चितवन महाधिवेशनपछि आएको नेकपा एमालेले आफ्नोभित्रको जनवादलाई सकाएको मात्रै होइन, देशको प्रजातन्त्रलाई सक्ने बाटोमा यो अघि बढेर आउँछ ।
बरालिएको एमालेलाई ठेगानमा ल्याउने काम नेपाली कांग्रेसले गर्न सक्नुपर्छ । नचाहिने कुरा गरेमा हप्काउने तागत कांग्रेसले राख्नुपर्छ । एमाले हाम्रो शत्रु होइन तर बरालिएको एमालेलाई ठीक ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्ने काम कांग्रेसको हो । यो तागत नेपाली कांग्रेसले अबको अधिवेशनबाट ल्याउनुपर्छ ।’
प्रतिक्रिया