काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवको राजीनानाम स्वीकृत भएको छ । स्वास्थ्यको कारण देखाउँदै संयोजक यादवले दिएको राजीनामा पार्टी सभापति शेरबहादुर देउवाले स्वीकृत गरेको कांग्रेसले जनाएको छ ।देउवाले समिति संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई मनोनयन गरेका छन् । घिमिर समिति सदस्य हुन् ।
डडेल्धुरा कांग्रेसको विषयमा निर्वाचन समितिमा फेरि विवाद भएपछि बिहीबार संयोजक यादवले राजीनामा दिएको एक समिति सदस्यले बताए । समितिले टुंग्याइसकेको विषयमा फेरि विवाद निकालेको आरोप यादवको थियो । कांग्रेसको डडेल्धुरा अधिवेशनलाई मान्यता दिन नहुने भन्दै जिल्ला सभापति कर्णबहादुर मल्ललगायतका नेताहरु सानेपामा अनसनमा छन् ।
सभापति मल्ल समूहले पार्टी कार्यालयमा समिति संयोजकमाथि दुव्र्यवहार गरेका थिए । उनीहरुले पार्टी सभापति देउवाको निर्देशनमा समितिले काम गरेको भन्दै यादवविरुद्ध नारावाजी गरेका थिए ।यादवले डडेल्धुरा अधिवेशनकै विषयलाई लिएर एक महिना अघि पनि पदबाट राजीनामा दिएका थिए । कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म हुँदैछ । यतिबेला विभिन्न जिल्लामा जिल्ला अधिवेशन भइरहेको छ
प्रतिक्रिया