निर्वाचनकै मुडमा भीम रावल

काठमाडौं, १२ मंसिर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पदाधिकारी र सदस्यहरुको नामावली निर्वाचित गर्नका लागि तयार गरिरहँदा उपाध्यक्ष भीम रावल भने निर्वाचनको पक्षमा देखिएका छन् । शनिबार बन्दसत्रमा प्यानल तय गर्ने सर्वाधिकार अध्यक्ष ‌ओलीलाई दिँदा पनि अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका रावलले कडा आपत्ति जनाएका थिए ।आइतबार बन्दसत्र हल बाहिर रावलले अध्यक्ष पदमा मेरो उम्मेदवारी किन भन्दै ३१ पन्ने पर्चा नै प्रतिनिधिहरुलाई बाँडिरहेका छन् । यद्पि स्वयंसेवकहरूले भने प्रतिनिधिबाट ती पर्चाहरू खोसिरहेका छन् ।

पर्चामा रावलको राजनीतिक इतिहास तथा अध्यक्ष पदमा उम्मेदवारी दिनुको उद्देश्य उल्लेख छ । एमालेमा पछिल्लो समय उत्पन्न अन्तरद्वन्द्वको व्यवस्थापनका लागि पनि आफूले पार्टी अध्यक्ष र अन्य नेताहरूसँग अनेकौँ पटक वार्ता गर्नुका साथै मध्यस्थको समेत भूमिका निर्वाह गरेको रावलले सो पर्चामा उल्लेख गरेका छन् ।

आफूले एमालेको एकता कायम गर्न कार्यदलमा सक्रियता र इमानदारीका साथ काम गरेको, पार्टीमा उत्पन्न अन्तर्विरोध र समस्या समाधान गर्न कार्यदलको १० बुँदे सिफारिस प्रतिवेदनको कार्यान्वयनमा पनि जोड दिएको उनले प्रस्ट पारेका छन् ।यद्यपि, आफ्नो अख्तियारीको सीमा बन्धन र निर्णयाधिकारी अरु नै भएकाले वाञ्छित परिणाम हासिल गर्न नसकेको उनले पर्चामा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘तर पार्टीले थप क्षति व्यहोर्नु नपरोस् तथा राष्ट्रिय राजनीति र देशको लागि गर्नुपर्ने कर्तव्य पूरा गर्न नेकपा एमाले सक्षम बनिरहोस् भन्ने भावनाका साथ मतभेद, द्वन्द्व र कटुताका सबै अवरोधहरूलाई बेवास्ता गर्दै म पार्टी एकताको पक्षमा र विभाजन तथा फुटको विपक्षमा उभिएको छु ।’ पर्चामा उनले आफ्नो उम्मेदवारीको उद्देश्य र लक्ष्यका १२ बुँदा उल्लेख गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति