‘ओमिक्रोन’ रोक्न छिमेकी भारतले कडाइ गरिसक्दा नेपाल भने मौन

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ देखिएपछि विश्वका विभिन्न मुलुकले धमाधम दक्षिण अफ्रिकासहित अफ्रिकी मुलुकसँग आवतजावतमा प्रतिबन्ध लगाइरहेका छन् भने छेउकै छिमेकी भारतले पनि कडा मापदण्ड लागू गरिसकेको छ। तर नेपालले अझै यसमा सजगता अपनाएको छैन।

स्वास्थ्य विज्ञले नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ भेटिएका मुलुकबाट आएका वा शंकास्पद व्यक्तिलाई अनिवार्य १५ दिन क्वारेन्टिनमा राख्न सुझाव दिए पनि यस विषयमा सरकारले अहिलेसम्म कुनै कदम चालेको छैन। दक्षिण अफ्रिकामा गत मंगलबार कोरोनाको नयाँ भेरिएन्ट ‘बी.१.१.५२९’ पत्ता लागेको हो। जसलाई वैज्ञानिकले ‘ओमिक्रोन’ नाम दिएका छन्। यो नयाँ भेरिएन्ट डेल्टाभन्दा बढी खतरनाक रहेको विज्ञले बताएका छन्। नयाँ भेरिएन्टको संक्रमण दर अत्यन्त तीव्र हुने बताउँदै वैज्ञानिकहरूले यसविरुद्ध अहिले लगाइरहेका खोपले काम नगर्न सक्ने शंकासमेत व्यक्त गरेका छन्। यसप्रति विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सहित विश्व नै चिन्तामा परेको छ। विश्वका धेरै देशले दक्षिण अफ्रिकासहित अफ्रिकाका ७–८ देशका विमान र यात्रुलाई प्रवेशमा रोक लगाइसकेका छन्। दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक र मलावीबाट आउने उडानमा प्रतिबन्ध लगाइएको हो।

भारतले पनि अफ्रिका, बोत्सवाना र हङकङबाट आउने यात्रुलाई पहिलेभन्दा बढी कडाइ गरेको छ। ‘ओमिक्रोन’ भेरिएन्ट भेटिएका मुलुकबाट आउने सबै यात्रुको अनिवार्य स्वास्थ्य परीक्षण गर्न थालिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। हङकङ, बोत्सवाना र इजरायलबाट आउने यात्रुको स्वास्थ्य जाँच्न आफ्ना सबै विमानस्थललाई भारत सरकारले निर्देशन दिइसकेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार राज्य सरकारहरूले पनि दक्षिण अफ्रिकाबाट आउने यात्रुको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरिसकेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सरकारी अधिकारीहरूको आकस्मिक बैठक बोलाएर नयाँ भेरिएन्टप्रति सजग रहन निर्देशन दिइसकेका छन्। तर नेपालले यस विषयमा अहिलेसम्म कुनै कडाइ गरेको छैन। आज आइतबार बस्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले यस सम्बन्धमा निर्णय गर्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board