काठमाडौँ, ११ मंसिर । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको निर्धारित तालिका अनुसार शनिबार बिहान ८ बजे सुरु हुने भनिएको बन्द सत्र दिउँसो २ बजेसम्म सुरु हुन सकेको छैन ।गत रातिदेखि नै आफ्नो समूहभित्र सहमति जुटाउन कोसिस गरेका अध्यक्ष केपी ओलीले बिहान पनि छलफललाई निरन्तरता दिएका थिए । बिहान पहिलो चरणमा आफ्नो समूहका नेताहरुसँग छलफल गरेका ओलीले अन्य असन्तुष्ट नेताहरूसँग पनि छलफल गरेका छन्।
तर त्यसमा सहमति जुट्न सकेको छैन । जसकारण बिहान ८ बजे सुरु हुने भनिएको बन्द सत्र दिउँसो २ बजेसम्म सुरु हुन नसकेको हो । अध्यक्षकै समूहको कचिङ्गल नसकिएको कारण बन्द सत्र सुरु नभएको हो, दस बुँदे पक्षधर एक पदाधिकारीले भने, हामीसँग संवाद सुरु नै भएको छैन । ओली समूहभित्रै सहमति भएन भने विदेशी नेताहरुले सम्बोधन गरेर मात्रै आजको कार्यक्रम सकिने संभावना पनि छ ।विदेशी प्रतिनिधिहरूलाई बन्द सत्रमा सम्बोधन गर्ने तयारी रहेको बताइएको छ ।
अहिले भने सौराहास्थित बन्द सत्र गर्ने स्थलमा नेताहरूले खाना खाने क्रम चलिरहेको छ । यद्यपि बन्द सत्र के कारणले ढिला भयो भन्ने बारे नेताहरूले औपचारिक रुपमा केही प्रतिक्रिया दिएका छैनन् । यसअघि बन्द सत्रमा गैरप्रतिनिधिहरू पनि प्रवेश गरेको भन्दै नेताहरूको सुरक्षा पुन जाँच गरिएको थियो । नेताहरूले अझै एक घण्टा (३ बजे)सम्म लाग्ने बताउनु भएको छ ।
के कारणले बन्द सत्र ढिलो भयो भनेर जानकारी गराइएको छैन केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले भने, प्रतिनिधिहरुले खाना खाने काम चल्दैछ।यसअघि एमालेले बिहान ८ बजेदेखि ३ घण्टा बन्द सत्र गरेर ११ बजेबाट निर्वाचनको प्रक्रिया सुरु गर्ने जनाएको थियो ।यसबीचमा अध्यक्ष ओली समूहभित्रका नेताहरूबीच धेरै आकांक्षी देखिएपछि समायोजनमा समस्या देखिएको बुझिएको छ । ओली निकट एक नेताका अनुसार महासचिव, उपाध्यक्ष लगायत पदमा धेरै नेतहरू आकांक्षी बनेपछि सर्वसम्मत गराउन कठिन बन्दैगएको छ ।
प्रतिक्रिया