देउवाप्रति नरम, प्रचण्ड र नेपालप्रति गरम बनेको ओलीको सम्बोधन

काठमाडौं, १० मंसिर । पार्टी विभाजनपछि भएको दसौँ महाधिवेशन उद्घाटन समारोहलाई शुक्रबार नारायणी किनारमा सम्बोधन गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेसप्रति नरम रुपमा प्रस्तुत भएका छन्।

झण्डै एक घण्टा लामो सम्बोधनका क्रममा ओली आफ्नो सरकार ढाल्न निर्णायक भूमिका खेलेका पूर्व सहकर्मीहरू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति रूखो शैलीमा प्रस्तुत भए। उनले भने ‘कुनै न कुनै समयमा निकट भविष्यमा अब चुनाव आउँदैछ । चुनावहरु आउँदैछन् । स्थानीय तहको चुनाव आउँदैछ । प्रदेश सभाका चुनाव आउँदैछ र संघीय चुनाव आउँदैछ ।

म हाम्रा कमरेडहरुलाई भन्न चाहान्छु, हाम्रा साथीहरुलाई भन्न चाहान्छु । समर्थक, शुभेच्छुक, आम नेपाली दिदीबहिनी, दाजुभाईहरुलाई भन्न चाहान्छु, हामी अब चुनावको तयारी तर्फपनि जानेछौँ । हामी जनमतको तयारी गर्नेछौँ । जनमतबाट हामीले एकल बहुमत ल्याउनुपर्नेछ यस देशका लागि । एमालेका लागि होइन, एमालेका लागि बहुमत होइन देश बनाउनका लागि । यस देशको सार्वभौमताको रक्षा गर्नका लागि । यस देशमा लोकतन्त्र फेरी गुम्न नपाओस् भनेर लोकतन्त्रको रक्षा त्यसका लागि ।

संविधानको रक्षा र कार्यान्वयनका लागि । संविधानको गलत व्याख्यालाई जनअभिमतबाट, जनादेशबाट सच्याएर अगाडी बढ्नका लागि नेकपा एमालेले बहुमत ल्याउनुपर्दछ ।’ अध्यक्ष ओलीले नेकपा एमाले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा रहेको बताए । सामाजिक न्याय र समान अधिकार र अवसर, सझदारी, सद्भाव र राष्ट्रिय एकताको नीति आफुहरुको नीति भएको उनको भनाई छ । एमालेले विरोध र विद्धेषको राजनीति नगर्ने भन्दै उनले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र स्वाधिनताको रक्षा गर्ने बताए । उनले भने– ‘हामी शान्तिको पक्षमा छौँ । देशभित्र शान्ति स्थापना हुनुपर्दछ । हामी कुनैपनि बाहानामा कुनैपनि नाममा हिंसातर्फ प्रवृत्त हुनेकुरा, आवेश, उत्तेजना फैलाउने कुरा, परस्परमा घृणा फैलाउने कुरा, जात जातका बिचमा, धर्म धर्मका, भाषा भाषाका बिचमा, भुगोल भुगोलका बिचमा साम्प्रदायिक विद्धेष फैलाएर नेपाली जनतालाई विभाजित गर्ने कुराको विपक्षमा छौँ । हामी सामाजिक सद्भावको पक्षमा छौँ । राष्ट्रिय एकताको पक्षमा छौँ हामी । हामी सामाजिक सद्भावको पक्षमा छौँ । हामी सहअस्तित्व र सहकार्यको पक्षमा छौँ ।

पारस्परिक सम्मान र एकताको पक्षमा छौँ । सबैलाई समान अधिकार, अबसर उपलब्ध गराउने पक्षमा छौँ । सामाजिक न्याय र समानता सबैलाई उपलब्ध गराउने पक्षमा छौँ । विद्धेष, विरोधको राजनीति होइन, हाम्रो नीति राष्ट्रिय एकताको नीति हो । सझदारी, सद्भाव, एकताको नीति हाम्रो नीति हो । हाम्रो नीति राष्ट्रियताको, सार्वभौमसत्ताको, हाम्रो स्वाधिनताको हामी रक्षा गर्न चाहान्छौँ । हाम्रो स्वाधिनता, हामी वास्तविक अर्थमा स्वाधिनता मात्रै भनेर बस्ने होइन, स्वाधिनताको हामी बास्तविक अर्थमा सही ढंगले, यथार्थ रुपमा त्यसलाई प्रयोग गर्न चाहान्छौँ ।’ कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले पारस्परिक हित र पारस्परिक सम्मानका आधारमा छिमेकीसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्धलाई अगाडी बढाइने बताए ।

नेपालको कोही शत्रु र कोही मित्र नभएको उल्लेख गर्दै उनले छिमेकी देशहरुसँग कुनैप्रकारको समस्या भएमा छलफलबाट समाधान गर्न सकिने बताए । नेपालले अतिक्रमित नेपाली भुमि लिम्पियाधुरा, लिपुलेक, कालापानी फिर्ता लिनुपर्ने उनले बताएा । नेपालले आफ्नो अतिक्रमित भुमि फिर्ता लिएर बास्तविक मित्रता र वास्तविक छिमेकीपन कायम गर्न चाहेको समेत बताए । उनले भने हामी सार्वभौम समानता चाहान्छौँ दुनियाँभरी, हामी कसैसँग पनि ठुला राष्ट्र हुन्, साना राष्ट्र हुन्, आकार प्रकार, साइज, जनसंख्या, विकासमा अगाडी पछाडी जे भएपनि सबै राष्ट्रहरुको सार्वभौमसत्ता समान छ, सबैले समानता मान्नुपर्छ भन्ने हामी ठान्दछौँ । यिनै आधारमा पारस्परिक लाभ, पारस्परिक हित, पारस्परिक सम्मानका आधारमा हाम्रा छिमेक सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्धहरु अगाडी बढ्छन् । हामीले भनेका छौँ, छैन कोही शत्रु, सबै मित्र । छैन कसैसँग शत्रुता, सबैसँग मित्रता । हाम्रो चाहाना त्यो हो, र हामी त्यस नीतिलाई अवलम्बन गर्छौ । हाम्रा छिमेकीहरु सँग कतिपय कुराहरु हामीले अझै छलफलको माध्यमबाट टुंग्याउनुपर्नेछ ।

र म विश्वास गर्छु, छलफलको माध्यमबाट हामी हाम्रा छिमेकीहरुसँग कुनै समस्या छन् भने ति समस्या हामी समाधान गर्न सक्दछौँ । हामीले लिम्पियाधुरा, लिपुलेक, कालापानीको नक्सा छापेका छौँ । त्यसलाई संविधानको अंग बनाएका छौँ तर त्यो जमिन हामीले फिर्ता लिनुपर्नेछ । सम्वादको माध्यमबाट हामी त्यो जमिन फिर्ता लिनेछौँ । फिर्ता लिएन भने फिर्ता नलिदासम्म हामीलाई हामी ठगिएको, मिचिएको, हेपिएको भन्ने अनुभुति भइरहन्छ । त्यसकारण त्यो अन्त्य गरेर वास्तविक मित्रताका लागि समस्या समाधान गरेर सही मित्रता, वास्तविक मित्रता, वास्तविक छिमेकीपन हामी कायम गर्न चाहान्छौँ ।’उहाँले नेपालमा कुनैपनि प्रकारका हिंसात्मक समुह नभएको बताए । नेपालमा शान्तिपूर्ण वातावरण भएकाले देश भित्र र बाहिरका लगानीकर्ताले लगानी गर्ने वातावरण रहेको पनि उहाँले उल्लेख गरे । अध्यक्ष ओलीले आवश्यकता र औचित्यको आधारमा नेपालको संविधान संशोधन हुन सक्ने मान्यता एमाले पार्टीको रहेको पनि बताए । उनले भने– ‘त्यो नेपाली जनताका लागि आवश्यक पर्दा आवश्यकता अनुसार औचित्यका आधारमा संशोधन हुन सक्दछ । र नेपाली जनतालाई आवश्यक पर्दा नेपालको विकासकालागि आवश्यक पर्दा संविधानमा आवश्यक संशोधन हुन सक्दछ । हामी त्यस मान्यतामा छौँ ।’ अध्यक्ष ओलीले आगामी निर्वाचन पछि नेकपा(एमाले)को सरकार बन्ने दाबी समते गरे । स्थानीय तहको चुनावमा ५० प्रतिशत भन्दा बढी मत एमालेले ल्याउने उहाँले जिकिर गरे । उनले भने – ‘आउँदो चुनावपछि एमालेको सरकार बन्छ । र एमालेले बाँकी रहेका विकासका कामलाई अगाडी बढाएर समृद्ध नेपाल, सुखि नेपाली बनाउने अभिभारा पुरा गर्छ । स्थानीय तहका निर्वाचनमा पहिलेजस्तो चालिस प्रतिशतभन्दा बढी भन्ने होइन, ५० प्रतिशतभन्दा बढी नेकपा एमालेले हासिल गर्नेछ ।’

कार्यक्रममा सम्बोधनको क्रममा एमाले अध्यक्ष ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियालाई टुंग्याउन नचाहेको आरोप लगाए । राजनीतिक आन्दोलनका क्रममा भएको घाइतेहरुको उपचार गर्न र समस्यामा परेकाहरुको समस्या समाधान गर्न पनि उनँले अध्यक्ष दाहाललाई चुनौती दिए । उनँे एमाले महाधिवेशन सकिनेबित्तिकै दशौँ हजार पूर्व लडाकुहरुलाई नेकपा(एमाले)मा प्रवेश गराउने तयारी रहेको पनि जानकारी दिए ।

उनले भने– ‘हिजो सशस्त्र द्धन्दका घाउहरु पुछ्नु छ हामीले । अहिलेसम्म पनि शान्ति प्रक्रिया टुंगिएको छैन । नेकपा(माओवादी केन्द्र) प्रचण्डजीको नेतृत्वमा फेरी त्यही नाम उहाँले लिएर एउटा चोइटो जानुभएको छ उहाँहरु । प्रचण्डजीको नेतृत्वमा छ । अहिले पनि शान्ति प्रक्रिया किन टुंगो लगाउनुहुन्न उहाँहरु ? उहाँहरु टुंगो लगाउनुहुन्न । किन घाइतेहरुको बन्दोबस्त गर्नुहुन्न ? जेलमा रहेका झुठा मुद्दाहरु किन खारेज गर्नुहुन्न ? किन घाइतेको उपचार हुँदैन ? किन बर्हिगमित लडाकुहरुको व्यवस्थापन हुँदैन ? किन हुँदैन ? अनि मन परेका मान्छेलाई दश, दशहजार बाड्ने रे ।

दश, दशहजार मन परेको मान्छेलाई बाँडेर यो समस्याको समाधान हुन्छ ? घाइतेलाई उपचार गर्नुस् । समस्यामा परेकाको समस्या हेर्नुस् । हिजो घरबार बिहिन भएका, अंगभंगविहिन भएकाहरुलाई रोजगारी दिनुस् । तपाईँ सरकारमा हुनुहुन्छ । हिजो सरकारले गर्न दिएन भनेर भाषण गर्नुहुन्छ, प्रधानमन्त्रीले गर्न दिएन । अनि भाषण गर्नुहुन्छ, आज म प्रधानमन्त्री नभएपनि यो सरकार मेरो हातको कठपुतली हो म नचाइँदिन्छु, मै शक्तिशाली, मै पावरफुल भन्दै हुनुहुन्छ त किन पावर देखाउनुहुन्न ? पावर देखाउनुस् । समस्या समाधान गर्नुस् लडाकुका । म भन्न चाहान्छु, अब यो महाधिवेशन अन्त्य हुन बित्तिकै, महाधिवेशन सम्पन्न हुन बित्तिकै हामी पूर्व लडाकुहरुको व्यवस्थापन गर्नेछौँ । पूर्व लडाकुहरु नेकपा(एमाले)मा प्रवेश गर्दै हुनुहुन्छ । र दशौँ हजारको संख्यामा हामी पूर्व लडाकुहरुलाई एमालेमा प्रवेश गराउँदै छौँ ।’

ओलीले प्रचण्डले युद्ध गराएका लडाकुलाई बेवास्ता गरेको भन्दै उनीहरुलाई फकाउने कोसिस गरे। तर त्यो कुराको प्रहार पनि उनै प्रचण्डमाथि थियो।

‘हामी पूर्व लडाकुहरुको व्यवस्थापन गर्छौँ। अहिले मिल्ने भए यहाँ दशौँ हजार प्रवेश गर्न तयार थिए’, उनले भने, ‘जनयुद्ध हाँक्ने पूर्वलडाकु तर मेयर र मन्त्री त अरु नै बनेँ।’

ओलीले आफूले निम्ता समेत नपठाएका माधव नेपाल र उनको पार्टीबारे खुलेर बोलेनन्। उनले प्रचण्डसँगै मुछेर माधव नेपाल पनि आफ्नो सरकार ढालेर कांग्रेसको सरकार बनाउन लागेको बताए। 

एमालेले माधव नेपाल र उनको पार्टीको हैसियत नै नभएको भन्दै महाधिवेशनका लागि निम्ता नै पठाएको थिएन। माओवादीबाट पनि प्रचण्ड महाधिवेशन छल्न काभ्रे पुगेका थिए।

माओवादीबाट नेता लीलामणि पोखरेलले सम्बोधन गरे। लिखित मन्तव्य दिएका उनले एक्ला एक्लै हिँडेर कहीँ नपुग्ने बताउँदै फेरि पनि एकताकै बाटो समात्नु जरुरी रहेको उल्लेख गरे। 

ओलीभन्दा अघि शुभकामना सन्देश दिएका देउवाले पञ्चायतकालमा आफू र ओली सँगै जेलमा बसेको स्मरण गराउँदै सम्बन्ध सुधारको प्रयास गरे।

उनले जेलमा भोगेका दुःख स्मरण गराउँदै आगामी दिनमा नेपालीलाई दुःख नपुगेस् भन्नेमा सचेत रहनुपर्ने बताएका छन्।

‘एमालेका अध्यक्ष केपी शर्मा ओलीजी लगायत हामी जेलका साथीहरु हौं। जेल मेट पनि हौं। सबै कुरा हामीले भोगेका हौं,’ देउवाले भने, ‘हिजोका दिनमा हामीले भोगेका दुःखलाई ध्यानमा राखेर भोलिका दिनमा कुनै नेपालीलाई दुःख नपरोस् भन्नेमा सचेत हुनुपर्छ। मेरो नेतृत्वको सरकार यही मूल्य र मान्यतालाई संस्थागत गर्न कटिबद्ध छ।’

उनले एमालेलाई जिम्मेवार दलका रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह पनि गरेका छन्। संसदमा लामो समयदेखि जारी गतिरोधका सन्दर्भमा देउवाले एमालेलाई यसो भनेका हुन्।

‘नयाँ संविधान मार्फत् लोकतन्त्रका मूल्य–मान्यतालाई संस्थागत गर्ने अभियानमा जिम्मेदार राजनीतिक दलको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न नेकपा एमालेलाई आग्रह चाहन्छु,’ प्रधानमन्त्री देउवाले भने।

उनले मत भिन्नता रहेकै कारण आफूहरु फरक–फरक दलमा आवद्ध रहेको भन्दै फरक दलमा भए पनि लोकतान्त्रिक मूल्य र मान्यतालाई जीवन पद्धति बनाउने लक्ष्य सबैको हुनुपर्ने बताए।

‘हामीबीच मत भिन्नताहरु छन् त्यसैले हामी अलग अलग दलमा आवद्ध छौं,’ प्रधानमन्त्री देउवाले भने, ‘तर, लोकतान्त्रिक मूल्य र मान्यतालाई जीवन पद्धति बनाउन, कानुनी शासन, जनअधिकार स्थापना गर्न, व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्न, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डता जोगाउँदै देशलाई समृद्ध बनाउन, समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने हामी सबै पार्टीको लक्ष्य हो र हुनुपर्दछ।’

अध्यक्ष ओलीले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनबाट उच्चस्तरको सहमती र लोकतान्त्रिक प्रक्रियाका साथ नेतृत्व चयन गर्ने बताए । महाधिवेशनको बन्दसत्रले एमाले पार्टी मात्रै होइन पाँच वर्षका लागि देशलाई नै बाटो देखाउने र हाँक्ने एकतावद्ध नेतृत्व निर्माण गर्ने उनले बताए । अध्यक्ष ओलीले सानातिना अन्तरविरोधहरुमा नअल्झिई एकतावद्ध भएर राष्ट्र निर्माणको अभियानमा लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति