एमाले १०औं महाधिवेशनकाे आज उद्घाटन : यस्तो छ सम्पूर्ण तयारी

चितवन, १० मंसिर । नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्दसत्र हुनेछ ।

महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट झण्डै पाँच लाख नेता कार्यकर्ता सहभागी हुने नेकपा एमालेले जानकारी दिएको छ । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित धेरै नेताहरु चितवन आइपुगेका छन् । बन्दसत्रमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुँदैछन् । कार्यक्रमको उद्घाटनसत्रमा हुने नारायणी नदी किनारमा मञ्चसहितका सबै संरचना तयार भएका छन् । ५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा ’सेल्फी प्वाइन्ट’ बनाइएको छ । चितवनका हरेक घरमा निमन्त्रणा पत्र पठाइएको छ ।

एमालेले महाधिवेशनमा प्यानल बनाए कारबाही गर्ने बताउदै पर्चा–पम्प्लेटमा पनि बन्देज लगाएको छ । मतदानका लागि एक सय वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिने भएको छ । सुरक्षाका लागि प्रशासनले १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्दैछ । नारायणगढ बजार क्षेत्रमा मालवाहक गाडी आवतजावतमा रोक लगाइए पनि अत्यावश्यक गाडी चल्न पाउने व्यवस्था गरिएको छ ।

७ ठाउँबाट जुलुस निकालिने

महाधिवेशनको उद्घाटन अगाडि चितवन जिल्लाका सात ठाउँबाट जुलुस निकालिने भएको छ । विभिन्न ठाउँबाट आएकाहरुलाई भरतपुरका सात ठाउँबाट जुलुससहित सभामा सहभागी हुने व्यवस्था गरिएको हो ।

एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार पूर्वबाट आउने सहभागीहरु भरतपुरको केन्द्रीय बसपार्कबाट जुलुसमा सहभागी हुनेछन् । पूर्वबाट आउने गाडीलाई केन्द्रीय बसपार्कमै पार्किङ गर्ने व्यवस्था गरिएको छ ।

पश्चिम नेपालबाट आउनेहरुलाई पुल्चोकबाट जुलुससहित सभामा सहभागी गराइने भएको छ । पश्चिमबाट आउने गाडीलाई गैँडाकोटतर्फको नारायणी नदी किनारमा पार्किङको व्यवस्था गरिएको छ ।

मुग्लिनको बाटो हुँदै आउने सहभागीहरुलाई आँटपारीबाट जुलुससहित सभामा सहभागी हुने व्यवस्था गरिएको छ । त्यस ठाउँमा रोकिएका गाडीलाई आँटपारीमा रहेको नेपाल ट्रष्टको जग्गामा पार्किङ गर्ने व्यवस्था गरिने भएको छ ।

चितवनको माडी, जगतपुर, गीतानगरतर्फबाट आउनेहरुलाई हाकिमचोकबाट जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ । ती ठाउँबाट आउने गाडीलाई पनि भरतपुर बसपार्कमा पार्किङको व्यवस्था गरिने छ । भरतपुरको पश्चिमी क्षेत्र चनौली, मेघौली लगायतका क्षेत्रबाट आउने सहभागीहरुलाई चौबीसकोठीबाट जुलुसमा सहभागी गराइने व्यवस्था गरिएको छ । भरतपुर महानगरपालिका वडा नं. १६, १७, १८ लगायत पश्चिम चितवनबाट आउने सहभागीहरु बेलचोकबाट जुलुसमा सहभागी हुनेछन् ।

त्यहाँ आउने गाडीलाई त्यही क्षेत्रमा पार्किङको व्यवस्था गरिएको रावलले जानकारी दिनुभयो । कालीका नगरपालिका र भरतपुर ११ तर्फबाट आउने सहभागीहरु विशालचोकबाट वीरेन्द्र क्याम्पस रोड हुँदै जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ । महाधिवेशनको उद्घाटनको क्रममा चितवनमा यात्रुलाई सहज हुने गरी ट्राफिक व्यवस्थापन मिलाइएको स्थानीय प्रशासनले जनाएको छ ।

पूर्व – पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा मालवाहक गाडी सञ्चालनमा रोक लगाइनेछ । नारायणगढ र भरतपुरका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक गाडी नरोकिने र अरु गाडीका लागि वैकल्पिक बाटोको व्यवस्थापन मिलाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । पूर्व पश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट ओहोरदोहोर गर्ने बसलाई वैकल्पिक बाटोको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

पूर्वबाट चितवन हुँदै गुड्ने गाडीलाई बाइपास रोड खुला हुनेछ । पूर्वबाट काठमाण्डौ ओहोरदोहोर गर्ने गाडी भरतपुरको जिल्ला प्रशासन कार्यालय चोक, बाइपास–आँपटारी हुँदै चल्न पाउनेछन् । पूर्वबाट पश्चिम चल्ने गाडीलाई प्रशासन कार्यालय चोकबाट दक्षिण बाटो हुँदै नारायणी पूलसम्मको वैकल्पिक बाटो तय गरिएको छ ।पश्चिमबाट छुट्ने गाडी नवलपरासीतिर नारायणी पुलको नजिकबाट शिवघाट जाने बाटो हुँदै पूर्वतर्फ र काठमाण्डौ चल्न मिल्ने चितवन प्रशासनले जनाएको छ । त्यसैगरी पूर्वबाट पश्चिम चल्ने गाडी आँपटारी–बाइपास हुँदै जिल्ला प्रशासन कार्यालय चोकबाट घुमेर नारायणी पुलतर्फ जानु पर्नेछ ।

पूर्व–पश्चिम चल्ने यात्रुवाहक गाडी नारायणीको पुल हुँदै चल्न पाउने तर नारायणघाटको मुख्य बजारमा प्रवेश गर्न नपाउने प्रमुख जिल्ला अधिकारी तामाङले बताए । उनका अनुसार नारायणीको पुलमा अरु भीडभाड गर्न रोकिनेछ । त्यस्तै बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्र अत्यावश्यक बाहेकका गाडी प्रवेशमा रोक लगाइएको छ ।शुक्रवार बिहान १० बजेदेखि बेलुकासम्म ती क्षेत्रमा गाडी छिर्न पाउने छैनन् । तर अत्यावश्यक एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, मृत्युसंस्कार लगायतका गाडी चल्नेछन् । यात्रा गर्नेलाई सकेसम्म सहज हुने गरी व्यवस्थापन मिलाएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए।महाधिवेशनको सुरक्षामा १५ सयभन्दा बढी सुरक्षाकर्मी खटाइने भएको छ ।

एक एआईजी र दुई डीआईजीको कमाण्डमा महाधिवेशनको सुरक्षाको व्यवस्था मिलाइएको छ । एआईजी सहकुल थापा, डीआईजी प्रकाशजङ्ग कार्की र दिवेश लोहनीको कमाण्डमा महाधिवेशनको सुरक्षाका लागि खटिएका छन् । चितवनका प्रहरी प्रमुख ओम अधिकारीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी झण्डै एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुनेछन् । महाधिवेशनको विशेष सुरक्षाका लागि नेपाल प्रहरीका आठ सय, सशस्त्र प्रहरीको ४५० तथा राष्ट्रिय अनुसन्धानको ९० जना सुरक्षाकर्मी परिचालन हुने छन् ।

त्यस्तै चितवनसँग सिमाना जोडिएको नवलपुरको गैँडाकोटबाट नेपाल प्रहरीका सयभन्दा बढी सुरक्षाकर्मी खटिने छन् ।महाधिवेशन उद्घाटन हुने ठाउँ र बन्दसत्रको सुरक्षा मजबुत बनाउन लागि सुरक्षाकर्मी परिचालन गर्ने चितवनका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समिति संयोजक अस्मान तामाङले जानकारी दिनुभएको छ । महाधिवेशन स्थलमा आवतजावतलाई सहज बनाउनका लागि आसपासका १३ ठाउँमा गाडी पार्किङस्थल तयार गरिएको छ । भीआईपी बस्ने ठाउँ र महाधिवेशन स्थललाई विशेष निगरानीमा राखिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओम अधिकारीले जानकारी दिए । महाधिवेशन स्थलमा सादा पोसाकका र राष्ट्रिय अनुसन्धानका प्रहरीहरु परिचालन हुनेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति