काठमाडौं, ९ मंसिर । बृहत नागरिक आन्दोलनमा सक्रिय पत्रकार नारायण वाग्लेले न्यायालयको समस्यामा प्रमुख राजनीतिक दलका नेताहरु चुप बसेको भन्दै आक्रोश पोखेका छन् । सर्वोच्च अदालतबाट सुरु भएको न्याय मार्चको बालुवाटारमा समापन गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा एक महिनादेखि बालुवाटारमा सुतिरहेको टिप्पणी गरे ।एक महिना न्यायालय अवरुद्ध हुँदाखेरि न्यायालको समस्या समाधान गरोस् भनेर बेवास्ता गरेको भन्दै पत्रकार वाग्लेले अक्रोश पोखे ।
‘जसले बुढानीलकण्ठमा सुतिरहेका व्यक्तिलाई पानी छम्केर बालुवाटार ल्यायो । तिनी एक महिनासम्म बालुवाटारमा सुतेको सुत्यै छन् । यदि सुतिरहने हो भने बुढानीलकण्ठ फर्के हुन्छ’ उनले भने ।
पत्रकार वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायपालिकाको समस्यालाई नजरअन्दाज गर्दै फैसला गर्ने सबै न्यायाधीशको राजीनामा मागेको भन्दै विरोध जनाए ।‘न्याय भन्ने तत्व नै नरहेको जिनिस बनाइसक्दा पनि, मुद्दाहरु सडकमा छरपस्ट भइसक्दा पनि फैसला गर्ने सबैले राजीनामा दिउन् भन्दै न्यायपालिकाप्रतिको आफ्नो जवाफदेहिता र भूमिका बिर्सने नेतालाई म भन्छु । यही सोच्ने हो भने तपाईं काठमाडौं नफर्के हुन्छ’ वाग्लेले भने ।उनले ओलीलेलाई राजनीति छाडेर देवघाट जान सुझाव दिए । ‘नजिकै छ देवघाट छ । नारायणी किनारबाट तपाई देवघाट जानुस् । ५ लाख कार्यकर्ताले १ १ रुपैयाँ उठाए पनि तपाईलाई सुनको कमन्डलु किन्न पुग्छ’ उनले भने ।
पत्रकार वाग्लेले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो क्रान्तिको कुरा गरे पनि अहिले रुवाबासी गर्दै हिँडेको टिप्पणी गरे । ‘न्यायालयले कसरी समस्या समाधान गर्छ ?, हिजो राज्य रुपान्तरण गर्दा जस्ताको तस्तै छोडिएको न्यायपालिका राजनीति गर्छु, देश बनाउँछु भन्नेले बदल्नुपर्छ कि पर्दैन रु’ वाग्लेले प्रश्न गरे । सडकको मुद्दाको बलमा सत्तामा जाने र गएको भोलिपल्टदेखि प्रतिगमनको मतियार हुने या आफैं प्रतिगमनको सूत्रधार हुने दलहरुलाई बृहत नागरिक आन्दोलनले दबाब दिइरहने पत्रकार वाग्लेले बताए ।
प्रतिक्रिया