चार वर्षको अध्ययनपछि बनेकाे ‘टुल्की’

डोल्पा, ९ मङ्सिर । करिब चार वर्षको अध्ययनपछि निर्माण गरिएको हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ले प्रदर्शनको अनुमति पाएको छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ले बुधबार केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शनको अनुमति पाएको हो ।

समितिका पदाधिकारीले हेरेपछि प्रमाणपत्र प्रदान गरेको चलचित्र निर्माता शेखर लामाले जानकारी दिए । ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको छ । एक ब्राम्हण बस्तीमा जन्मेकी ‘टुल्की’ले प्रेमविवाह गरेर उपल्लो डोल्पा जाँदा संस्कारका नाममा भोग्नुपरेको कहालीलाग्दो पीडालाई सो चलचित्रमा उतारिएको छ ।

चलचित्रको निर्देशन तथा छायाँङ्कन देवजङ्ग थापाले गरेका छन् भने लगानी शेखर लामा र आरपी कर्माचार्यको रहेको छ । सो चलचित्रको कथा लक्ष्मण सुनारले लेख्नुभएको हो । शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ । उक्त चलचित्र विभिन्न देशमा प्रदर्शन गरिसकेपछि मात्र नेपालमा देखाइने लामाको भनाइ छ । अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत सो चलचित्र प्रदर्शन गरिने बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board