लभ्लीहिल पर्यटककाे पर्खाईमा

गलेश्वर, ९ मङ्सिर । उत्तरतर्फ आँखै अगाडि चाँदीझै सेता टलक्क टल्केका हिमशृङ्खला, नजिकै सुन्दर नगरी बेनी बजारलाई काखमा राखेर नागबेली हुँदै बगेका म्याग्दी नदी र कालीगण्डकी । हरिया बगैँचा, रुखका बुट्यान, हावामा बयेली खेलिरहेका फूल, भुर्रभुर्र उडिरहेका चरा अनि बेपर्वाह आपसमा प्रेमलाप गरिरहेका जोडीहरु देखिने लभ्लीहिल (प्रणयशिखर) पर्यटकको पर्खाइमा छ ।

आसपासमा देखिने हिमशृङ्खला, चौतर्फी देखिने हरियाली र आकर्षक भू–बनोटलगायत मनमोहक दृश्यले यस ठाउँलाई प्रेममैत्री बनाएको छ । सदरमुकाम बेनीको दक्षिणी मोहोडाको शिरमा रहेको लभ्लीहिल प्रेमजोडीको रोजाइमा पर्न थालेको हो । प्राकृतिक सौन्दर्यमा हराउँदै आपसमा बाँधिएर सुदूर अतितको कल्पनामा डुबुल्की मार्न दैनिक सयौँको सङ्ख्यामा आउने प्रेमजोडी यहाँबाट देखिने रोमाञ्चक दृश्य हेर्दै प्रेममा डुबुल्की मारिरहेका देखिन्छन् । कोरोना भाइरस सङ्क्रमणका डरले साउन महिनासम्म सुनसान देखिएको लभ्लीहिल हिजोआज चलहपहल हुन थालेको छ ।

बेनीबाट ३० मिनेटभित्रै पुग्न सकिने बेनी नगरपालिका–२ खबरा नजिकै अवस्थित लभ्लीहिलमा ‘मर्निङ वाक’, ‘इभनिङ वाक’ गर्नेदेखि दिउँसोको समयमा घुम्न आउने आन्तरिक पर्यटक बढेका छन् । पूर्वाधार निर्माणसँगै पछिल्लो समय म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको पर्यटकीय तथा रमणीयस्थल लभ्लीहिल पर्यटक आकर्षणको केन्द्र बने पनि लकडाउनले यसलाई ओझेलमा पारेको थियो तर अहिले कोरोना सङ्क्रमणको दर केही कम भएकाले यहाँ रौनक सुरु भएको स्थानीय चन्द्रबहादुर कार्कीले बताए ।

आन्तरिक र बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्रका रूपमा रहेको लभ्लीहिल विशेषगरी युवायुवतीका लागि ‘डेटिङ स्पोट’का रूपमा विकसित भएको छ भने विभिन्न जिल्लाबाट म्याग्दीको बेनीबजार आउने आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तव्यस्थल पनि बनेको छ । यहाँबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायत क्षेत्र देख्न सकिन्छ । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौँ अग्लो चुचुरो धवलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदय समेत यहाँबाट अवलोकन गर्न पाइन्छ । बेनीबजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृश्य अवलोकन गर्न सकिने सदरमुकाम नजिकको गन्तव्य भएकाले पनि यहाँ थप पूर्वाधार तथा प्रचारप्रसार भएमा आर्थिक कारोबार हुनाका साथै नयाँ बस्ती बढ्ने सम्भावना छ ।

केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने स्थानमा परेको लभ्लीहिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायी बताउँछन् । यहाँ रेष्टुरेन्ट, भ्यूटावर, स्वीमिङ पुललगायत बालबालिकादेखि बृद्धबृद्धा रमाउने स्थलका रूपमा विकसित भइरहेको छ । यस क्षेत्रमा खान र बस्नका लागि आवश्यक व्यवस्थासहित थप पर्यटन पूर्वाधार निर्माण भएमा म्याग्दी र मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयवासीको भनाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board