काठमाडौं, ९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को आगामी महाधिवेशनमा पार्टी नेतृत्वलाई चुनौती दिने गरी नेताद्वय राजेन्द्रप्रसाद लिङ्देन अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।बिहीबार काठमाडौंमा एक कार्यक्रममा बीच राप्रपाका तर्फबाट एक मात्र प्रतिनिधिसभा सदस्य झापाका लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
लिङ्देनलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, अभिनेत्री रेखा थापालगायतका नेताहरूको साथ रहेको छ । यसअघि बिहीबार राणाले पनि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको बताइएको थियो ।पार्टी स्थापनाकालदेखि नै नेतृत्व तहमा रहँदै आएका शीर्ष नेताहरूले आसन्न महाधिवेशनमा पनि अरूलाई अवसर नदिने संकेत गरेपछि लिङ्देन र राणाको समूह अघि सरेको हो । दुवै नेता दुई वर्षयता पार्टीमा जिम्मेवारीविहीन छन् । ‘प्यानल’ नै बनाएर महाधिवेशनमा जाने उनीहरूको योजना छ । यसअघि दुवै जना राप्रपाका तीन अध्यक्षमध्येका एक कमल थापानिकट थिए । अहिले राप्रपामा पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी पनि अध्यक्ष छन् । तीनै जना यस पटक पनि अध्यक्षका दाबेदार हुन् ।लिङ्देन राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं)का संस्थापक अध्यक्ष पनि हुन् । राणा एमालेको राजनीतिबाट उदाएका युवा नेता हुन् ।
राणा २०५४ मा एमालेका तर्फबाट नेपालगन्ज नगरपालिकाका मेयर थिए । राजतन्त्रविरुद्ध एमालेसहितका दलहरू एकजुट भएपछि राणा पार्टी परित्याग गरी राप्रपामा लागेका हुन् । पछिल्लो पटक २०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाले देशभर नराम्ररी पराजय व्यहोरेका बेला नेपालगन्ज उपमहानगरको मेयरमा राणा निर्वाचित भएका थिए ।
पार्टीले कांग्रेससँग तालमेल गरेर प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लडेका बेला लिङ्देन एमाले–माओवादी गठबन्धनसँग तालमेल गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । झापामा अरू निर्वाचन क्षेत्रमा एमालेलाई सहयोग गरेर लिङ्देनले क्षेत्र नम्बर ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए । काठमाडौंमा मंसिर १५–१७ मा हुने राप्रपाको एकता महाधिवेशनमा करिब ४ हजार ५ सय प्रतिनिधि छनोट भइसकेका छन् ।
प्रतिक्रिया