धनगढी, ८ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनै तहको निर्वाचन एकैपटक गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताएका छन् ।
बुधबार धनगढी विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै प्रचण्डले तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने आवाज बलियो रुपमा उठ्न थालेपछि प्रधानमन्त्री देउवासँग छलफल गरिएको बताएका हुन् ।‘प्रधानमन्त्रीज्यू पनि त्यस विषयमा सकारात्मक हुनुहुन्छ,’ अध्यक्ष प्रचण्डले भने,‘ सबै तहसँग छलफल गरेर उपयुक्त निष्कर्षमा पुगिने छ । पटकपटक चुनाव गर्दा राज्यलाई खर्च भार पनि बढी हुने र जनतालाई पनि दिक्क लाग्ने हुँदा सबै चुनाव एकैपटक गर्नुपर्ने माग आउन थालेको उनले बताए ।प्रचण्डले सर्वोच्च अदालनमा देखिएको समस्या छिट्टै समाधान हुने बताए । अदालतभित्र देखिएको समस्या आन्तरिक रुपमै समाधान हुनुपर्ने बताउँदै उनले त्यसो नभएमा एक दुई दिनमा पाँच दलीय गठबन्धनले एक स्टेपमाथि गएर अर्को निर्णय गर्ने बताए ।
‘प्रचण्ड’ले अहिले सबैलाई गठबन्धन आवश्यक रहेको बताए । कतिपय मानिसहरूले गठबन्ध चल्दैन, टिक्दैन कि भनेर आशंका गर्ने या भ्रम फैलाउने स्थितिको अन्त्य भइसकेको प्रचण्डले दाबी गरे । ‘यो गठबन्धनले मजाले प्रधानमन्त्री, मन्त्री बन्न पाइया छ, सरकार चलाउन पाइया छ, अनि गठबन्धन टिक्दैन भन्ने हुन्छ र रु यो त मिल्ने कुरै होइन नि,’ उनले भने। पाँच दलीय समन्यव समितिको नाममा उच्चस्तरको संयन्त्र बनाएपछि तत्काल देशमा अस्थिरता नआउने उनले जिकिर गरे । प्रचण्डले गठबन्धनले चुनाव मिलेर लड्ने निर्णय गरेको पनि बताए । तर, उच्चस्तरीय संयन्त्र सरकारलाई निर्देशन दिने नभै पार्टीहरुबीचको संयन्त्र भएको उनले बताए ।
प्रतिक्रिया