काठमाडौँ, ५ मंसिर । प्रदेश २ मा दुई जना नवनियुक्त मन्त्रीले शपथ ग्रहण गरेका छन् ।नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सरकारमा सहभागी भएका शत्रुद्यन महतो र प्रमोद यादवले आइतबार बिहान शपथ ग्रहण गरेका हुन् ।
महतोले उद्योग, पर्यटन, वन तथा वातावरण र यादवले कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय पाएका हुन् ।जनकपुरधामस्थित मधेश भवनमा आइतबार बिहान आयोजित समारोहमा प्रदेश प्रमुख हरिशंकर मिश्रले दुवै मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।
शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उद्योग मन्त्री महतोले प्रदेश २ मा भइरहेको चुरे दोहनलाई रोकेर तत्काल चुरिया संरक्षणको लागि विस्तृत योजना ल्याउने बताए। उनले मधेसलाई कृषिमा आत्मनिर्भर बनाउन चुरिया संरक्षण महत्त्वपूर्ण रहेका उनको भनाइ थियो।
त्यस्तै, नवनयिुक्त कानून मन्त्री यादवले प्रदेश र संघीयतालाई संस्थागत गर्न कानून निर्माण महत्त्वपूर्ण रहेको बताए। प्रदेश कानून निर्माणमा देखिएको समस्यालाई हल गरेर अगाडि बढ्ने उनको भनाइ थियो।
मुख्यमन्त्री राउतले एकीकृत समाजवादीलाई सरकारमा ल्याउन आफ्नै पार्टीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई पदमुक्त गरेका थिए। यससँगै आफूसँगै रहेको कानून मन्त्रालयलाई पनि एकीकृत समाजवादीलाई दिएका छन्।
एकीकृत समाजवादीबाट दुई मन्त्रीसँगै एक जना राज्यमन्त्रीले पनि शपथ लिने तयारी गरिएको थियो। तर, सत्तारुढ दलभित्र राज्यमन्त्रीलाई लिएर विवाद भएपछि शपथ रोकिएको छ।
मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) भित्रको सन्तुलन मिलाउन एक जना राज्यमन्त्री थप्न खोजेका थिए। तर, कांग्रेसले एक जना आफ्नो पार्टीबाट पनि राज्यमन्त्री थप्नु पर्ने अडान लिएपछि विवाद भएको हो।
राज्यमन्त्रीका विषयमा सत्तारुढ दलबीच छलफल गरेर सहमति बनाइने एक नेताले बताए। सहमतिपछि सबै दलबाट एकै पटक राज्यमन्त्री नियुक्त गरिने ति नेताले बताए।
प्रतिक्रिया