गौराती भीमेश्वर मन्दिरमा हजारौं दर्शनार्थीको भिड

सिन्धुपाल्चोक, ४ मंसिर । शुक्रबारदेखि सुरु भएको सिन्धुपाल्चोक जिल्लाकै सबैभन्दा ठूलो मेलामा हजारौं दर्शनार्थीको भिड लागेको छ । मेला चौतारा सँगाचोकगढी नगरपालिकामा रहेको प्रसिद्ध ऐतिहासिक धार्मिक स्थल गौराती भीमेश्वर मन्दिरमा दुई दिन सम्म लाग्नेछ ।

चौताराको पुरानोबजार स्थित गुठीघरबाट भीमसेनको मूर्तिलाई रथमा लगी पूर्णिमाको रात गौराती भीमेश्वर मन्दिरमा रहेको मूर्तिसँग मिलन गराउने परम्परा छ। यो दिन गुठीयारको घरघरमा समेत पूजा गर्ने चलन छ। सिन्दुरे जात्रासहित मेला सम्पन्न गर्ने परम्परा छ।

मेला भर्न छिमेकी जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा र काभ्रेबाट समेत भक्तजन आउने गरेका छन्। सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट चार किलोमिटर उत्तरपश्चिममा पर्ने गौरतीडाँडामा अवस्थित भीमेश्वर मन्दिरसम्म पुग्न सार्वजनिक यातायातको पनि सुविधा रहको छ ।

प्राचीन कालमा जंगल रहेको सो डाँडामा गोठालाहरुले खर्क राखी गाई चराउने गर्थे। गाईले राति–राति एउटा ढिस्कोमा दूध चढाउने गरेको गोठालाहरूले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुको साथै दिव्य मूर्ति प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्तर्ध्यान भएकाले सोही समयदेखि पूजाआजा गर्ने गरेको मान्यता रहेको छ। ‘गौ’ अर्थात गाईले राति दुध चढाएको कारण गौराती र भूमि खनेर उत्पत्ति भएकोले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको मान्यता रहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति