चौथो चरणको आन्दोलन घोषणा : देशभरका अदालतमा बहस नगर्ने

काठमाडौं, मंसिर ४ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागिरहेको बार एसोसिएसनले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । शुक्रबार बसेको बैठकले चौथो चरणको आन्दोलन घोषणा गरेको महासचिब लीलामणि पौडेलले जानकारी दिए ।वार्ताका लागि भन्दै प्रधानन्यायाधीश राणाले शुक्रबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएकै दिन बारले चौथो चरणको आन्दोलन घोषणा गरेको हो । महाससचिब पौडेलका अनुसार सोमबारदेखि शुक्रबारसम्मका लागि आन्दोलनका कार्यक्रम तय गरिएको छ । सोमबार देशभरका अदालतमा कानून व्यवसायीले बहस पैरवी नगर्ने बारले निर्णय गरेको छ ।

यस्तै मुद्दा दर्ता नगर्ने, जिल्ला र उच्च अदालतमा पनि विरोध प्रदर्शन गर्ने, संसदमा रहेका दलहरुलाई ज्ञापनपत्र बुझाउने र काठमाडौँ केन्द्रित कार्यक्रम गर्ने तय भएको छ ।महासचिब पौडेलले शुक्रबार राणाले पठाएको पत्रबारे छलफल नभएको बताए । उनले राजीनामा दिने भएमात्र वार्ता बस्ने नत्र वार्तामा नबस्ने बताए । उनले राजीनामा नआउँदासम्म आन्दोलन जारी रहने बताए ।यस्तै बारले बिहीबार र शुक्रबार बारको आन्दोलनमा प्रहरी बल प्रयोग गरिएकोमा आपत्ति जनाएको छ । सोमबार देशभरका अदालतमा बहस पैरवी नगर्ने कार्यक्रम बल प्रयोगको विरोधमा भएको महासचिब पौडेलले जानकारी दिए । उनले संसारमा कहिँ पनि कानून व्यवसायीमाथि प्रहरीले बल प्रयोग नगर्ने भए पनि यहाँ एसएलआरसहितका सशस्त्र प्रहरी परिचालन गरिएको भन्दै आपत्ति जनाए । प्रहरीको लाठी चार्जमा बार अध्यक्ष श्रेष्ठसहित केही कानून व्यवसायी घाइते भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति