काठमाडौँ, ३ मङ्सिर । मुलुकका अधिकांश क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औषतभन्दा कम देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागको अभिलेखानुसार जाडो सुरु हुँदैगर्दा तापक्रम घट्नु स्वभाविक भए पनि पछिल्लो केही हप्ता ३० वर्षको औषत तापक्रमभन्दा कम हुँदा सर्वसाधारणले बढी चिसो महसुस गरेका छन् । एक्कासि चिसो बढ्दा बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा असर पुग्नसक्ने हुँदा सावधानी अपनाउन भनिएको छ । अक्टोबर तेस्रो हप्तापछि गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाबाहेक अन्य प्रदेशमा अधिकतम तापक्रम सरदरभन्दा कम देखिएको विभागका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले बताए । यो बीचको समयमा कुनै दिन काठमाडौँमा दुई डिग्रीसम्मै तापक्रम घटेको छ । नोभेम्बर लागेपछि काठमाडौँमा न्यूनतम तापक्रम पनि घटेको उनले बताए । विराटनगर, धनकुटा, धरान ओखलढुङ्गा, जिरीमा न्यूनतम तापक्रम पनि घटेको छ । अधिकतम तापक्रम दिनमा र न्यूनतम तापक्रम रातमा मापन हुन्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले अब पुनः जाडो तथा सुक्खायाममा हुने विपद्जन्य घटना बढ्ने सम्भावना बढ्दै जाने बताए । तापक्रम घट्दै जाँदा मानिसले आगो बालेर ताप्ने, घरमा आगो बालेर छाड्नेलगायत क्रियाकलाप हुने र त्यसबाट आगलागीको सम्भावना बढ्नसक्नेतर्फ सचेत हुनुपर्ने जनाइएको छ । उनले आगलागी तथा डढेलोका घटनाहरु घट्न थालिसकेको बताए । केही अघि मात्रै महोत्तरीमा आगो ताप्दा शरीरमा आगो लागेर घाइते भएकी एक महिलाको बिहीबार मृत्यु भएको छ ।
औषतभन्दा तापक्रम घट्ने क्रम काठमाडौँ उपत्यकामा गएको अक्टोबर तेस्रो हप्तादेखि नै सुरु भएको हो । मुख्यतः उपत्यकामा भने अक्टोबर २६ बाट अधिकतम तापक्रम औषतभन्दा कम देखिँदै आएको छ । पछिल्लो समयमा भने न्यूनतम तापक्रमसमेत औषतभन्दा कम देखिन थालेको वरिष्ठ मौसमविद् डा. कँडेलले बताए । हाल पोष्ट मनसुनकै समयमा चलिरहेकाले जाडोयामको आँकलन आउन बाँकी नै छ । आइतबारदेखि मौसम सुधार हुने देखिएकाले तापक्रम केही बढ्ने मौसमविद्को अनुमान छ ।
आज पनि काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा चिसो महसुस गरिएको छ भने मौसम सफा देखिएको छैन । घाम पनि लाग्न सकेको छैन । धुम्म छ, ठूलो पानी पर्ने अवस्था पनि छैन । उच्च पहाडी भूभाग तथा हिमाली भूभागमा हल्का हिमपात हुनसक्ने छ । यो क्रम भोलिसम्म रहने र आइतबारबाट सुधार हुने वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । “यस्तो समयमा तापक्रम वायुमण्डल स्थित भएर बस्ने हुँदा प्रदूषण हुनसक्छ, यस्तो अवस्थामा सावधानी अपनाउनुपर्छ”, उनले भने । यसपालि जुम्लामा माइनस पाँच डिग्रीसम्म र काठमाडौँको न्यूनतम ७ दशमलव ४ डिग्रीसम्म तापक्रम झरेको मापन गरिएको छ ।
प्रतिक्रिया