आज अनौठो भूत मेला कमला नदीमा

धनुषा, ३ मङ्सिर । धनुषा र सिरहाको सिमाना छुुट्याउने कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ आज गाउँगाउँबाट भूत मेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लागेको छ ।

कमला नदीको किनारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमामा अनौठो भूत मेला लाग्ने गर्छ । धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर तथा जयनगरलगायतका स्थानबाट ठूलो सङ्ख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्न आउने गर्दछन् । कमलामा स्नान गरेपछि धामीझाँक्री बन्ने विश्वासका साथ देउता खेल्दै स्नान गर्न गाउँघरबाट आज बिहानैदेखि भक्तजन कमला नदीको तटमा पुगेका छन् । कतिपयले कार्तिक पूर्णिमाको पूर्वसन्ध्यामा बिहीबार कमला नदीको तटमा पुगेर राति बास बसेका र आज बिहानै कमला नदीमा स्नान गरेका श्रद्धालु बताउँछन् ।

धनुषा र सिरहा जिल्लाको सिमाना छुुट्याउने कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ आज गाउँगाउँबाट मेला भर्न कमला नदीमा आएका श्रद्धालु ।

‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी।’ यस्तै–यस्तै आ–आफना इष्टदेवताको नाम फलाक्दै धामीझाँक्री मिर्दङ (मादल), झ्याली, ढोलपिपहीजस्ता बाजाको तालमा कमला नदीमा शपथग्रहण गर्न पुगेका हुन् । कमला नदीमा स्नान गरिए कमलेश्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी कमलामा स्नान गर्नेको सङ्ख्या बढ्दै गएको गणेशमानम चारनाथ नगरपालिकाको गोदार बस्ने भरत साह बताउँछन् । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् ।

मूल धामीले मन्त्र सिद्धी गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धीका लागि यस दिन पूर्णाहुती दिने चलन छ । मिथिलाञ्चलमा सदियौँदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास छ । पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्री हातमा बलेको आगोसहितको माटोको ढकना (भाँडा) र बेतको लाठी घुमाउँदै चर्को स्वरमा चिच्याइरहन्छन् । उनीहरू आफूमा आएको देउतालाई सिद्ध गर्न गङ्गास्नान गर्न आएका बताउँछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति