काठमाडौं, ३ मंसिर । सर्वोच्च अदालतका सबै न्यायाधीश इजलास फर्किएका छन्। प्रधानन्यायाधीशविरुद्ध आन्दोलन थालेर कात्तिक ८ गतेदेखि इजलास बहिष्कार गरेका सबै न्यायाधीशले शुक्रबारदेखि मुद्दा हेर्न थालेका हुन्।
बिहीबार बसेको १८ न्यायाधीशको फुलकोर्ट बैठकले यसअघि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन अनुसार गोलाप्रथा प्रणालीलाई लागु गराउने निर्णय लिएको थियो। यससँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अधिकार कटौतीमा पर्नेछन्। शुक्रबारदेखि इजलास फर्किएका सबै न्यायाधीशले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा पनि हेर्न थालेका छन्।तर गोलाप्रथा प्रणालीद्वारा पेशी तोक्नुअघि उनीहरुले दुई पक्षीय बहसका मुद्दामा सुनुवाइ गर्ने छैनन्।
उनीहरुले शुक्रबारदेखि मिलापत्र, तामेली, निवेदन फिर्ता र संशोधनसहितका मुद्दा हेर्न थालेका छन्। शुक्रबारका लागि जबराले १० वटा इजलास तोकेका छन्। तर उनले आफ्नै लागि भने कुनै इजलास तोकेका छैनन्। यसअघि कात्तिक ३० मा ५ जना न्यायाधीश इजलास फर्किएर मुद्दा हेर्न थालेका थिए। सर्वोच्चका न्यायाधीशहरु आन्दोलन छाडेर काम फर्किए पनि नेपाल बार एसोसिएसनले भने जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताएको छ।
प्रतिक्रिया