काठमाडौं, २ मंसिर । नेपाली काँग्रेसको महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले ‘ दलमा रुपान्तरण स् देशमा रुपान्तरणको अनिवार्य सर्त’ सम्बन्धी अवधारणा पत्र सार्वजनिक गरेका छन् । ‘राजनीतिमा परिवर्तन’ सम्बन्धी अवधारणा पत्र असोज ३ गते झापामा सार्वजनिक गरेपछि महामन्त्री पदका उम्मेदवार शर्माले बुधबार चितवनमा ‘दलमा रुपान्तरण’ सम्बन्धी अवधारणा पत्र सार्वजनिक गरेका हुन् । भदौ ३४ गते १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका शर्माले पार्टीमा युवालाई प्रोत्साहित गर्नुपर्ने बताए । शर्माले केन्द्र र प्रदेश कार्यसमितिमा १० प्रतिशत युवा निर्वाचित हुने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।
३० – ४० वर्षसम्मका प्रतिनिधिहरू उम्मेदवार भएर आपसमा प्रतिस्पर्धा गर्ने गरी व्यवस्था गर्न शर्माको प्रस्ताव छ । ‘अबको जिम्मेवारी युवा रोजगारी’ भन्ने दृढतालाई काँग्रेसले परिणाममुखी ढंगले अघि बढाउनुपर्नेमा शर्माको जोड छ । १४ औं महाधिवेशनमा नयाँ आशा र नयाँ विश्वासमा देशलाई गाँस्ने संकल्प र नविन खाका काँग्रेसले प्रस्ताव गर्ने शर्माले बताए । ‘काँग्रेस महाधिवेशन र महाधिवेशन पछिको काँग्रेसले ‘हिजो राजनैतिक परिवर्तन अब राजनीतिमा परिवर्तन’ भन्ने दृढ उद्घोष साथ राजनीतिप्रति बढेको वितृष्णा अन्त्य गर्ने र देश निर्माणमा युवा पुस्ताको विश्वास र क्रियाशीलतालाई घनिष्ठसँग गाँस्ने पहलकदमी लिनुछ,’ शर्माको अवधारणा पत्रमा उल्लेख छ ।समय, समाज र निरन्तर बदलिने युवा मनोविज्ञानले दलहरूको आधुनिकीकरण खोजेको भन्दै दलहरू रुपान्तरित हुन नसके प्रणाली माथि असर पर्न जाने उनको भनाइ छ । सबै दल एउटै प्रकृतिको ‘भेरियन्ट’ ले ग्रसित भन्दै सिद्धान्तमा आधारित संगठनको नीतिलाई व्यावहारिकताको नियतिले गिजोलेको शर्माको अवधारणामा उल्लेख छ ।
प्रतिक्रिया