प्रधानन्यायाधीश जबरासँग जोडिएका विकृतिका विवादित फैसलाहरू संकलन गर्नका लागि बारको आह्वान

काठमाडौं, १ मंसिर । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशले गरेको विवादास्पद फैसला उपलब्ध गराउन आह्वान गरेको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादित फैसला गरी अन्यायमा पारेकाहरूलाई ती फैसला उपलब्ध गराउन आह्वान गरेका हुन् ।

नेपाल बार एसोसिएसनले बुधवार सर्वोच्च अदालतमा धर्ना दिनुअघि बार भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशबाट अन्यायमा परेकाहरुलाई त्यस्तो फैसला बारलाई उपलब्ध गराउन आह्वान गरेका हुन् । प्रधानन्यायाधीश जबराको राजीनामा पछि पनि सम्पत्ति विवरण संकलन गरिने र छानविन हुने उनले बताए । उनले भने, ‘चोलेन्द्र शमशेर जबराले ऊसँग जोडिएका विकृतिका विवादित फैसलाहरू नेपाल बार एसोसिएसनले संकलन गर्नका लागि आह्वान गरेको छ ।

तपाई साथीहरु ज–जसलाई यिनले अन्याय पारेका छन्, न्याय किनबेच गरेका छन्, ती फैसलाहरू नेपाल बार एसोसिएसनमा उपलब्ध गराइ दिनुहुन अनुरोध गर्दछु । र यिनको राजीनामा पश्चात पनि त्यो फैसला अनुसारको छानविन हुनेछ, उसको सम्पत्ति विवरणहरू हामीले संकलन गर्नेछौँ । कहाँ, कसरी अन्याय किसिमबाट बटुलेका छन् त्यो कुरापनि हामीले हेर्नेछौँ ।’अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको निर्देशनमा बारको आन्दोलन प्रतिकुल हुनेगरी काम भइरहेको आरोप लगाए । उनले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म बारले देशभर आन्दोलन गर्ने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति