काठमाडौं, १ मंसिर । व्यवसायी सिद्धार्थ जंगबहादुर राणाले गत वर्ष सबैभन्दा बढी कर तिरेका छन् । आन्तरिक राजस्व विभागका अुनसार राणाले आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिरेका हुन् ।
विभागले मंसिर १ गते १०औं राष्ट्रिय कर दिवसको अवसरमा राणालाई सम्मानित गरेको छ । उनी यसअघि ५ पटकसम्म सबैभन्दा बढी आय कर तिर्ने व्यवसायीको रुपमा सम्मानित भएका छन् । उनी सिप्रदी ट्रेडिङका अध्यक्ष हुन् । राणा लगातार पाँच पटक उत्कृष्ट करदाताको रुपमा सम्मानित भइसकेका व्यक्ति हुन् ।
सिप्रदी ट्रेडिङका अध्यक्ष तथा सूर्य नेपालको सञ्चालक समितिका निर्देशक हुन् सिद्धार्थ । सिद्धार्थ जत्तिकै र कतिपय अवस्थामा उनीभन्दा सफल कहलिएका उद्योगी-व्यवसायी कर तिर्ने मामलामा चाहिँ निकै पछाडि छन् ।
सिद्धार्थले पनि सार्वजनिक रुपमा कर तिर्ने संस्कारबारे बोलेका छैनन् । निकटस्थका अनुसार सिद्धार्थले सर्वाधिक आयकारदाता बन्नुलाई नै ठूलो रुपमा लिने गरेका पनि पनि छैनन् । सात पटक पुरस्कार पाएकोमध्ये १ पटक मात्रै सिद्धार्थ समारोहमा आफैं उपस्थित भएका छन् ।
सिद्धार्थका स्वर्गीय बाबु प्रभाकर राणा नेपालमा स्वच्छ व्यवसायका लागि उनी ‘पायोनियर’ नै मानिन्छन् । जसरी बाबु प्रभाकर राज्यलाई तिर्नुपर्ने कर छल्नुहुन्न भन्ने मान्यता राख्थे, त्यही संस्कार बोकेर हिँडेका छन् सिद्धार्थले ।
उनको लगानी रहेको कम्पनी सूर्य नेपाल देशकै सफल कम्पनीको सूचीमा अग्रस्थानमा छ । त्यसैले सार्वाधिक कर तिर्ने कम्पनीका रुपमा पटक-पटक सम्मानित हुने गौरव उनलाई मिलेको हो । यसपटक पनि सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने करदाता बनेको छ ।
सिद्धार्थ राणाकै कम्पनी सिप्रदी ट्रेडिङ पनि सर्वाधिक कर तिर्ने कम्पनीको सूचीमा अग्रस्थानमा पर्छ । सिद्धार्थले आफ्नो नेतृत्वमा चलिरहेका कम्पनीलाई सकेसम्म कर विवादबाट टाढा राख्न खोजेका छन् । यसमा उनले अड्चन भने नभोगेका होइनन् । तर, आफ्ना बाबुको विरासतलाई उनले ढल्न दिएका छैनन् ।
प्रतिक्रिया