एमाले नआएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन्

काठमाडौं, ३० कातिक । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ ।मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक भोलि विहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो ।

नेकपा एमालेले भने विप्लव समूहको बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै बैठक स्थगित गर्न माग गरेको थियो । तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुले बैठक रोक्न सहमत भएनन् ।त्यसपछि बसेको बैठकमा विपक्षी दल नेकपा एमालेका एक जना पनि सांसद सहभागी नभएपछि सभामुख प्रदीपकुमार भण्डारीले बुधबार साढे ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

मुख्यमन्त्री असन्तुष्ट

प्रदेशसभा बैठक स्थगित गरेकामा मुख्यमन्त्री राजेन्द्र राईले सभामुख प्रदीपकुमार भण्डारीप्रति असन्तुष्टि जनाएका छन् । उनले नेकपा एमालेको निर्देशनमा प्रदेशसभा बैठक स्थगित गरेको आरोप लगाए । ‘विहानसम्म मसँग प्रोसिड्युर (विश्वासको मत लिने प्रक्रिया) बारे छलफल गर्नुभएको थियो, एमालेको तर्फबाट खबर आएपछि निर्णय वा निर्देशन अनुसार यो काम गर्नुभएको छ । यो राम्रो भएन’ मुख्यमन्त्री राईले भने ।नेकपा एमालेले सभामुख भण्डारीलाई आफ्नो सांसदमा गणना गर्ने गरेको भन्दै मुख्यमन्त्री राईले सभामुखले पनि त्यो कुरा व्यवहारमा देखाएको टिप्पणी गरे । विश्वासको मत लिने प्रक्रिया मुख्यमन्त्रीले आफ्नो अनुकुल समयमा लिन पाउनुपर्ने भए पनि एमालेले दुख दिन मात्र खोजेको बताए । ‘यो दुख दिने नियतमात्र हो, यसले परिणाममा फरक केही पार्दैन, उहाँहरु आउन नसक्ने अवस्था मात्र होइन’ उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति