काठमाडौं, ३० कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण काठमाडौंका सडकमा बिहानैदेखि आशिंक प्रभाव परेको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्द गरेको आह्वान हो । नेपाल बन्दका कारण काठमाडौंमा विहानैदेखि सार्वजनिक सवारीहरु कम चलेका छन् ।यात्रुले बिहानै सास्ती भोगेका छन् । सार्वजनिक गाडी कुरेर बसे पनि पाउन सकेका छैनन् । विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका यात्रुहरु पनि विभिन्न ठाउँमा अलपत्र परेका छन् । कलंकी, नयाँबसपार्क, कोटेश्वर, बल्खु, बालाजुलगायतका स्थानमा यात्रुहरू गाडी कुरिरहेका देखिन्छन् ।बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ । चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ । प्रहरीले फाट्टफुट्ट सार्वजनिक गाडी चलिरहेको पनि जनाएको छ । सार्वजनिक गाडीको सङ्ख्या कम भए पनि निजी गाडी भने सामान्य रुपमा चलिरहेका छन् ।
लुम्बिनी प्रदेशमा बिहानैदेखि बन्दको प्रभाव, यातायात ठप्प
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशका जिल्लामा बिहानैदेखि परेको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो । बन्दका कारण लुम्बिनी प्रदेशका रुपन्देही, दाङ, बाँके, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तुलगायतका जिल्लाको जनजीवन प्रभावित बनेको हो ।
बन्दले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन भएका छैनन् भने बजार, उद्योगधन्दा, कलकारखाना पनि ठप्प छन् । सहरका केही भित्री भागमा भने पसल फाटफु खुलेका छन् । कतिपय जिल्लामा सीमित मात्रामा मोटरसाइकल चलेका छन् ।
बुटवलमा भने केही स्थानमा मात्र आन्दोलनकारी देखिएका छन् । मुख्य सडकका धेरै ठाउँमा आन्दोलनकारी छैनन् । ठाउँठाउँमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ ।
बन्द सफल पार्न भन्दै सोमबार साँझ जिल्ला जिल्लामा नेकपाका कार्यकर्ताले मसाल जुलुस निकालेका थिए । शिक्षण संस्थाले भने बन्दका कारण पठनपाठन सञ्चालन गर्न असहज हुने भन्दै सोमबार नै पढाइ नहुने सूचना जारी गरेका थिए ।
बन्दका कारण यात्रुहरुले भने सास्ती पाएका छन् । विभिन्न स्थानमा यात्रु गाडी करिरहेका देखिन्छन् । तर गाडी नपाउँदा उनीहरु अलपत्र छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले बन्दका क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ ।
बन्द गराउँदै हिँडेका विप्लवका आठ कार्यकर्ता पोखराबाट पक्राउ, यातायात ठप्प
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बन्दको असर पोखरामा पनि परेको छ । प्रहरीले बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ ।
बन्द गराउँदै हिँड्का नेकपा कास्कीका सदस्य काजी गुरुङ र अखिल ९क्रान्तिकारी०पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्कीका डीएसपी सुन्दर तिवारीले पक्राउ परेकासँग सोधपुछ भइरहेको बताए ।
नेकपाका कार्यकर्ताले पोखराका विभिन्न चोक र सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।
पोखरामा बिहानैदेिख बन्दको प्रभाव छ । सार्वजनिक यातायात ठप्प छ भने निजी सवारीसाधन पनि फाट्टफुट्ट गुडेका छन् । बजार बन्द छ। अत्याश्यक ढुवानीका मालबाहक गाडी भने चलिरहेका छन् ।
तनहुँमा ११ जना बन्दकर्ता पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका कार्यकर्तालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार बिहान दमौलीबाट विप्लवका ११ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसिनाले बताए ।
सदरमुकाम दमौलीस्थित ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर संगठनको जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशंकर लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपाले आह्ववान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । सडक र बजार सुनसान छ ।
पोखरामा बन्दको सामान्य प्रभाव, ८ बन्दकर्ता पक्राउ
जिल्ला प्रहरी कार्यालय कास्कीले ८ जना बन्दकर्तालाई प्रक्राउ गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरको बन्दलाई सफल पार्ने उद्देश्य सहित टायर लिएर हिडेका ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले बताए । ‘हामीले केहीलाई टायरसँगै नियन्त्रणमा लिएका छौ, ‘डिएसपी तिवारीले भने, ‘केहीलाई भने राती १/२ बजेको समयमा कारण बताउनै नसक्ने गरी सडकमा निस्केकालाई ल्याएका छौ । संकाको घेरामा छन् । उनीहरुलाई सोधपुछ हुन्छ । ’ उनले पोखरामा अहिलेसम्म केही पनि अप्रिय घटना नभएको बताए ।
डिएसपी तिवारीले घटना रोक्नको लागि चोकचोकमा प्रहरीको तनाथी बाक्लो बनाएको बताए । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई दबाब दिन आज (मंगलबार) नेपाल बन्दको आह्वान गरेको थियो । बन्द आह्वानसँगै पोखरामा अति–आवश्यक सवारी साधनसँगै सामान्य मात्रामा निजी सवारी साधान चलेका छन् । भने अन्य सार्वजनिक सवारी साधनहरु भने गुडेका छैनन् । नेपाल सरकारले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा चरम मुल्य वृद्धि गरेको थियो ।
चितवनमा बन्द गराउँदै हिँड्ने १० पक्राउ
नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरुद्ध भन्दै आज आह्वान गरेको बन्दका क्रममा सवारी रोक्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका वाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, कार्यकर्ता पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार साउदसहित दुई जनालाई बिहान सबेरै भरतपुरको बाइपास रोड र अन्यलाई नारायणगढको लायन्स चोकबाट नियन्त्रणमा लिइएको हो।
सुरक्षाकर्मी व्यापक परिचालन गरिएकाले बन्द कर्ताले सवारी आवागमनमा अवरोध पुर्याउन पाएका छैनन् । ‘जिल्लाभर अवरोध गर्न खोज्नेलाई तत्काल पक्राउ गर्ने गरी सुरक्षाकर्मी परिचालन गरिएको छ,’ थापाले भने।
बन्द आह्वानका कारण अन्य दिनमा झै सवारी साधन भने चलेका छैनन् । बिहानैदेखि बजार क्षेत्र सुनसान देखिएको छ।
सुदूरपश्चिममा नेपाल बन्द सफल पार्न नेकपाका स्वयंसेवक परिचालन
सुदूरपश्चिममा नेपाल बन्द सफल पार्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले स्वयंसेवक परिचालन गरेको छ। स्वयंसेवक लेखिएका राता जर्सीमा उनीहरू ठाउँठाउँमा नाराबाजी गर्दै बन्द सफल पार्न दवाव दिईरहेका छन्।प्रदेशको अस्थायी राजधानी धनगढीमा बन्दको प्रभाव देखाउन उनीहरूले नाराबाजी गरेका हुन्।कैलाली प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बन्दले आम दैनिकीमा प्रभाव पारेको बताए । विष्टका अनुसार हालसम्म कुनै उच्छृंखल गतिविधि भएको छैन।नेपाल बन्दका कारण कञ्चनपुरको जनजीवन पनि बिहानैदेखि प्रभावित छ। बजारमा अटोरिक्सा र मोटरसाईकल फाट्टफुट्ट चलेका छन्। यहाँबाट लामा दुरीका सवारीसाधन छुटेका छैनन्। कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर वमका अनुसार बजार आंशिक रूपमा मात्रै खुलेका छन्।
पाल्पाका चोकचोकमा आज बाक्लो मात्रमा सुरक्षाकर्मि
नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थमा गरेकाे चर्को मुल्यबृद्धी विरुद्ध गरेकाे नेपाल बन्दकाे प्रभाव विधालय, पसल, सार्वजनिक यातायातमा देखिएको छ । पाल्पाका चोकचोकमा आज बाक्लो मात्रमा सुरक्षाकर्मि परिचालित भएका छन् ।
विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थमा गरेकाे चर्को मुल्यबृद्धिकाे बिराेध गर्दे आह्वान गरेकाे नेपाल बन्द प्रभाव पाल्पामा पनि परेकाे छ ।
मंगलबार बिहानैदेखि लामो तथा छोटो दूरीका गाडीहरू चलेका छैनन् । पाल्पामा सार्वजानिक सवारी नचलेकाे र सदरमुकामबाट बाहिरिने तथा भित्रिने सवारी पनि नचलेको ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बन्दमा अत्यावश्यक ढुवानीका साधनहरु बाहेक सबै बन्द रहने तथा बन्द बिहान ६ बजेदेखी साझ ५ बजेसम्म हुने साे पार्टीले जनाएकाे छ । बन्द सफल बनाउन साे पार्टीका कार्यकर्ताले साेमबार साँझ तानसेनमा मसाल जुलुस समेत गरेका थिए
प्रतिक्रिया