‘बेटी पढाऊ, बेटी बचाऊ’अन्तर्गत साइकल खरिदमा अनियमितता : अख्तियार

जनकपुरधाम, २९ कार्तिक । प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ किशोरीहरूलाई वितरण गर्न खरिद गरेको साइकलमा आर्थिक अनियमितता भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रदेश २ कार्यालय बर्दिबासका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक अनुसन्धानमा प्रदेश सरकारले गरेको साइकल खरिदमा आर्थिक अनियमितता देखिएको बताएका छन् ।

सोमबार जनकपुरमा संचारकर्मीसँग कुराकानी गर्दै प्रमुख सापकोटाले भने, ‘हामीले साइकल खरिदसम्बन्धी सम्पूर्ण फाइलको अध्ययन गरिरहेका छौँ । प्रारम्भिक अनुसन्धानमा अनियमितता भएको देखिएकाले थप अनुसन्धानका लागि अनुसन्धान अधिकृत नै तोकेका छौँ ।’

साइकल खरिदसम्बन्धी सम्पूर्ण कागजातहरू नियन्त्रण लिएको जानकारी गराउँदै प्रमुख सापकोटाले भने, यो अनुसन्धान काठमाडौंमै अख्तियारको केन्द्रीय कार्यालयबाट भइरहेको छ । दोस्रो चरणको अनुसन्धानमा अनियमितता देखिए संलग्न कर्मचारी तथा पदाधिकारीहरूविरुद्ध कानुनअनुसार भ्रष्टाचारको मुद्दा दायर गर्छौं ।’

अख्तियारको टोलीले १३ असोजमा मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका छापामारी गरी साइकल खरिदसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति