हामीले बूढानीलकण्ठ नदेखेकाे झैँ गरेर सभापतिले आफ्नै घरमा बैठक बाेलाए : नेता सिंह

काठमाडौं, २९ कार्तिक ।  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रिय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रिय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाएकोमा चर्को असन्तुष्टि व्यक्त गरेका हुन । नेपाली काँग्रेस जिल्ला कार्य समिति, काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बुढानिलकण्ठ नदेखेको झैं गरेर सभापति देउवाले आफ्नै निवासमा आईतबार (हिजो) केन्द्रिय कार्य समितिको बैठक बोलाएकोमा आपत्ति जनाए । नेता सिंहले सभापति देउवाको गृहजिल्ला डडेलधुरामा सम्पन्न भएका वडा तथा पालिका अधिवेशनहरु मान्य नहुने चेतावनी समेत दिए । उहाँनले सत्ताको दूरुपयोग गरेर पुलिसको घेरामा राखेर डडेलधुरामा गरिएको अधिवेशन मान्न नसकिने अडान राख्नु भयो ।

नेता सिंहले क्रियाशील सदस्यताको विवाद देखिएको ठाउँमा पूरानै क्रियाशील सदस्यलाई मान्यता दिने पार्टी केन्द्रिय कार्य समिति बैठकले गरेको सर्वसम्मत निर्णय तत्काल कार्यान्वयन गर्न पनि पार्टी नेतृत्वलाई दवाव दिए । उनले भने, ‘पार्टी केन्द्रिय कार्य समितिको बैठक पार्टी सभापतिको घरमा राख्छ । हिजो मैले बोले । कार्यालयमा राख्नु प¥यो नि वर्किङ कमिटी भनेर । भवनको के काम । बुढानिलकण्ठ हामीले नदेखेको हो र भन्या । उहाँको त्यहा घर बन्नुभन्दा अघि नै हामी त्यहाँ बुढानिलकण्ठ भगवानको पूजा गर्न जान्थेऊ नि त । अनि एक महिना नाघि सक्यो–रौंतहटका साथीहरु धर्ना बसेको बस्यै । के दशंै, के तिहार, के छठ । पार्टी कार्यालयमा छिँडीमा बसेको बस्यै छ । मैले भने कि किन यस्तो गर्छौं केन्द्रिय कार्य समितिले त सर्वसम्मत निर्णय गरेको हो ।

जुन जिल्ला, जुन क्षेत्रको जुन वडाको जहाँ प्रोबलम छ । विधि र नियम अनुसार सम्बोधन गर्न प्रयास गरौंं । एक्टिभ मेम्बरसिपमा विवाद भयो भने । होईन भने समय बित्न लाग्यो भने स्थगनमा राखौं । र पूरानैबाट गरौं भनेर त सर्वसम्मतिले पारित गरेको छ नि । यहाँ त अरु पार्टीबाट प्रवेश गरेको नाममा, समायोजनको नाममा निर्वाचन अधिकृत खटि सकेको छ । भोटलिष्टमा समायोजनको लिष्ट एउटा छ, समायोजनको लिष्टमा नभएका नामहरु राखेर पर्सादेखि विशेष गएर प्रदेश २ मा त्यस्तो भईराखेको छ । अरे बाबा के गर्ने, हाम्रै पार्टी सभापतिको गृह जिल्लामा के गर्नु भयो ? के राम्रो भएको छ ? अहिले उहाँले सुनिराख्नु भएको छ नि त ।

त्यहाँको जिल्ला सभापतिले के भयो भन्ने कुरा । यो संगठन पकड गरेर विधि र नियम पूरा नगरीकन पुलिसको घेरामा म सत्तामा छु भन्दैमा पुलिसको घेरामा राखेर नभएको अधिवेशन भो भनेर घोषणा गर्दैमा हुन्छ ? यसले पार्टीलाई राम्रो गर्दैन ।’ नेता सिंहले राजनीतिक न्याय दिन पनि पार्टी नेतृत्वसँग माग गरे । उनले विधि र नियम उलंघन गरेर पार्टी नेतृत्वले सधैं कार्यकर्तालाई अन्याय गरेकाले आफूहरुले राजनीतिक न्यायको खोजी गर्नु परेको तर्क समेत गरे । उनले पार्टी नेतृत्वले अव महाधिवेशन सार्ने अवस्था भने नरहेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति