मध्यपुरथिमिमा शङ्खधर उद्यान शुभारम्भ

भक्तपुर, २९ कात्तिक । मध्यपुर थिमिस्थित शङ्खधर चोकमा आकर्षक शङ्खधर उद्यान निर्माण गरिएको छ । नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाको रु दुई करोड र मध्यपुरथिमि नगरपालिकाको रु चार करोडमा सो उद्यान तयार पारिएको हो ।

शङ्खधर दिवसको अवसर पारेर काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आइतबार उद्यानको शुभारम्भ गर्दै उपत्यकाका १२ नगरपालिकालाई धार्मिक तथा पर्यटकीय उद्यान तथा बहुद्देश्यीय उद्यान निर्माणका लागि सहयोग गर्दै आएको बताए । उनले भने, “काठमाडौँ महानगरपालिका सबैभन्दा जेठो र स्राेत साधन पनि धेरै भएको सांस्कृतिक पालिका हो, आफ्नो नगरपालिका मात्रै बनाएर हुँदैन, छिमेकी नगरपालिका पनि बनाउनुपर्छ तब मात्र महानगरपालिकाको गौरब बढ्छ भनेर नगरपालिका नगरपालिका साझेदारी कार्यक्रम अगाडि बढायौँ, यसको एउटा नमूना यो उद्यान हो ।”

मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको शंखधर चोकमा अवस्थित आकर्षक शंखधर पार्कको आइतबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्दै ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भने, “शङ्खधर उद्यान निर्माणका लागि कूल रु १३ करोडको गुरुयोजना स्वीकृत गरेका थियाेँ, यसमा पहिलो चरणको काम सम्पन्न गर्‍यौँ, बाँकी काम अर्को वर्ष अर्को कार्यकालका लागि बाँकी राखेका छौँ, बाँकी काम सम्पन्न गर्न महानगरले आगामी वर्ष अझ धेरै आर्थिक सहयोग गर्छ भन्ने विश्वास लिएको छु ।”करिब १३ रोपनी क्षेत्रफलमा ढुङ्गाको खुट्किला, पानीको झरना, झुण्डिएको बगैँचा, ढुङ्गेधारा, एम पी थियटर (डवली), पदमार्ग, दुबो रोपेर हरियो बगैँचा, ह्याङ्गिङ गार्डेन, निर्माण भएको छ । गुरुयोजनाअनुसार बाँकी पाँच रोपनीमा हरियो उद्यान, चिल्ड्रेन पार्क, परम्परागत शैलीको सत्तल (पाटी), शङ्खधर साख्वाःको शालिक, ठूलो शङ्ख, रक क्लाइम्मिङ, रोप क्लाइम्मिङ निर्माण गर्ने काम बाँकी भएको छ । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महानगरपालिकाले पनि संस्कृति, सम्पदा संरक्षणमा हातेमालो गर्दै अघि बढेको बताए ।

मध्यपुर थिमिस्थित शंखधर चोकमा निर्माण भएको आकर्षक शंखधर पार्कको शंखधर दिवसको अवसरमा आइतबार साँझ आयोजित कार्यक्रममा भैरब काली नृत्य गर्दै कलाकार ।

कार्यक्रममा शंकरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, शङ्खधर साख्वाः प्रतिष्ठानका उपाध्यक्ष ज्ञानराम श्रेष्ठ, मध्यपुर थिमि नपा वडा नं ४ का सदस्य रामकेशरी श्रेष्ठलगायतले शङ्खधर उद्यान र सम्पदा संरक्षणमा थिमिले चालेको कदमको चर्चा गरेका थिए । कार्यक्रममा भैरव–काली, महाकाली, लाखे, महामञ्जुश्री, कुमारी नृत्य, नौ बाजा तथा गीत प्रस्तुत गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति