साहित्यकारको परिचयपत्र पाएपछि बैरागी काँइलाले भने– बल्ल लेखक भइयो

काठमाडौँ, २८ कार्तिक । नेपाल प्रज्ञा प्रतिष्ठानको ३६ औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले केही लेखक/साहित्यकारलाई परिचयपत्र प्रदान गरेका छन् । प्रधानमन्त्री देउवाले शताब्दी पुरुष सत्यमोहन जोशी, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वसदस्य सचिव गीता केशरीलाई पनि परिचयपत्र प्रदान गरेका हुन ।

लेखक÷साहित्यकारको परिचयपत्र पाएपछि प्रतिष्ठानका पूर्व कुलपति बैरागी काँइलाले भने, ‘यो बुढ्यौलीमा अब बल्ल लेखक भइयो जस्तो लागेको बताए । उनले ’कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेलाई लक्षित गर्दै काँइलाले सोधे, ‘मन्त्रीज्यू, अब त प्लेनमा पनि यो परिचयपत्रले मान्यता पाउला नि ?’

प्रतिष्ठानका सदस्य–सचिव जगतप्रसाद उपाध्यायले घोषणा गरे, ‘अब माग भएअनुसार नेपालको विभिन्न मातृभाषामा कलम चलाउनेदेखि विदेशमा बसेर लेख्ने समेतलाई लेखक÷साहित्यकार परिचयपत्र वितरण गरिनेछ ।’३६ औँ प्राज्ञसभाको उद्घाटनको अवसरमा प्रधानमन्त्री देउवाले प्रतिष्ठानको पुनः डिजाइन गरिएको वेबसाइटको पनि शुभारम्भ गरे । वेबसाइटमा अनलाइनबाटै बैठक कक्ष बुकिङ तथा पुस्तक–पत्रिका बिक्री वितरणको समेत व्यवस्था गरिएको छ ।

सो अवसरमा प्रधानमन्त्री देउवाले भने, ‘कुनै पनि देशले भौतिक रुपमा जति उन्नति गरे पनि सांस्कृतिक रुपमा उन्नति नगरे विकास भएको मानिन्न । त्यसैले यहाँका भाषा, कला, साहित्य, संस्कृति जोगाउने प्रतिष्ठानको उपादेयता अझै बढ्दै गएको छ ।’ उनले नेपालका सबै भाषा साहित्यको उन्नयनममा प्रज्ञा प्रतिष्ठानले काम गर्नेमा आफू विश्वस्त रहेको बताए ।शताब्दी पुरुष सत्यमोहन जोशीले आजभन्दा ५० वर्षअघि २०२८ सालमा कर्णालीमा ५ जनाको टोलीले महिनौं बसेर त्यहाँको स्थलगत अध्ययन गरेको स्मरण गर्दै भने,‘प्रज्ञा प्रतिष्ठानका लागि कर्णालीको लोकसंस्कृतिबारे पाँच भागसम्म गहन पुस्तक प्रकाशन पनि गरियो । तर अहिले त्यसको सबै भाग अर्कै निजी प्रकाशनबाट आउन थालेकोमा दुःख लागेको छ । प्रतिष्ठानले आफ्नो बौद्धिक सम्पत्ति जोगाउन सक्नुपर्छ ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले कोरोना अवधिमा पनि गत वर्ष १३४ पुस्तक प्रकाशन गरेर उल्लेख्य काम गरेको भन्दै प्रतिष्ठानको प्रशंसा गरे । उनले प्रतिष्ठानका पदाधिकारीहरूसँग बसेर समस्या बुझी समाधान गर्न तयार रहेको बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानले अनुवादको कामको थालनीबारे जानकारी दिँदै चीन र पाकिस्तानका आधुनिक कविता प्रकाशन गरिसकेको तथा बंगलादेशको कविता संग्रह प्रकाशोन्मुख रहेको जनाए । उनले इजरायलसँगको सहकार्यमा वीपी कोइरालाको ‘हिटलर र यहुदी’ उपन्यास हिब्रु भाषामा आउन लागेको पनि सुनाए ।नेपाली साहित्यको विकासमा लाग्नेलाई पनि विभिन्न पुरस्कार स्थापना गरिएको बताउँदै उप्रेतीले नेपाली साहित्यलाई सर्वप्रथम विदेशमा चिनाउने लक्ष्मीप्रसाद देवकोटाको कवि कुञ्जलाई यसै वर्ष संग्रहालय बनाइसक्ने प्रतिबद्धता पनि व्यक्त गरे । तस्वीर स् रासस

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति