प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन नरोक्ने बारको निर्णय



काठमाडौं, २८ कार्तिक ।  नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा नआएसम्म जारी आन्दोलन नरोक्ने निर्णय गरेको छ । आइतवार सर्वोच्च अदालत परिसरमा झण्डै डेढ घण्टा धर्नापछि बारको पांगणमा आयोजित कार्यक्रममा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन नरोकिने बताएका हुन् । ‘उहाँले तोकेको इजलासमा नबस्न न्यायाधीशहरूलाई आग्रह गरेका छौं । चोलेन्द्रको राजीनामापछि अदालत सुधारको दोस्रो अध्याय हो । आन्दोलनको रुप फेरिएर अझ सशक्त बन्छ तर प्रधानन्यायाधीशको राजीनामा नभए आन्दोलन रोकिँदैन,’ ‘हामीहरु आफ्नो न्यायपालिका सुधारको लागि लागेका छौँ । न्यायपालिकाको बाधक चोलेन्द्र शमसेर जबरा जबसम्म रहन्छ, हामीले न्यायपालिका सुधार गर्न सक्दैनौँ । त्यसकारण प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य छ । राजीनामा मात्रै होइन अब त पदच्युत पनि गर्नुपर्ने अपरिहार्य अवस्थामा हामी पुगेका छौँ । जबरा जबसम्म पदच्युत हुँदैन, अरु सुधारको कार्यक्रम गर्न सकिदैनँ । जसले न्यायमा विचलन ल्याएको छ, जसले न्याय प्रशासनलाई बरबाद गरेको छ । जसले यो देशलाई बर्बाद गर्न खोजिराखेको छ, त्यस्तो व्यक्तिहरु न्यायपालिकामा रहन सक्दैनँ । कुनैपनि हालतमा राख्न सक्दैनौँ ।’श्रेष्ठले भने ।

पूर्व महान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले चोलेन्द्रशमशेर जबराले प्रधानन्यायाधीशको कुर्सी छुनु पनि अन्याय हुने बताए । ‘हामीले राजीनामा गर्नुस् भनेर भन्यौँ, अब तपाईंले त्यो कुर्सी छुनु पनि अन्याय हुन सक्छ,’ कार्कीले भने । वरिष्ठ अधिवक्ता कार्कीले बारको आन्दोलनका कारण सर्वोच्चमा मुद्दा रोकियो भनेर भ्रम छर्न खोजिएको बताए । ‘मुद्दा रोकियो भनेर भ्रम पारिएको छ, उहाँको थुप्रै पेशी तोकिएको छ, कसैले रिसर्च गरेर हेरे हुन्छ । उहाँले चाहेको मुद्दा सुनुवाइ हुन्छ अरू स्थगित हुन्छ,’ कार्कीले भने । सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले आफूहरूको बटमलाइन नै प्रधानन्यायाधीशको राजीनामा रहेको बताए । ‘उहाँलाई कुनै भूमिका दिने कुरामा सहमति छैन, मान्यता होइन,’ शाक्यले भने । बारले प्रधानन्यायाधीशलाई रोक्न भन्दै आज पनि सर्वोच्च अदालतभित्र धर्ना दिएको थियो । बारको विरोधका बाबजुद प्रधानन्यायाधीश जबरा भने सर्वोच्च छिरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति