कर्णाली प्रतिष्ठानमा मङ्सिरदेखि एमबीबीएस पढाइ

काठमाडौं, २७ कार्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ। प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा निरेश थापाले जानकारी दिए। प्रतिष्ठानको लक्ष्य तथा उद्देश्यअनुरुप सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम पूर्वतयारीअनुसार अघि बढ्ने निमित्त उपकुलपति डा थापाले बताए।

‘प्रतिष्ठानको बहुप्रतिक्षित एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम एमडी, एमएस, बिएनस, बिएमएस, बिपिएच र बिफर्मा सञ्चालन हुनेमा कुनै बाधा पर्ने हो कि भन्ने चिन्ता, चासो र भ्रमसहितका समाचार केही सञ्चारमाध्यममा आएको देखियो’, उनले भने, ‘प्रतिष्ठानको पूर्वनिर्धारित कार्यक्रमअनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ। जसअनुसार भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको छ।’

यसका लागि चिकित्सा शिक्षा आयोगको यही कात्तिक २५ गतेको सूचनाअनुसार आउँदो मङ्सिर १९ गतेदेखि कक्षा सञ्चालन गर्न प्रतिष्ठान पूर्णरुपमा तयार रहेको बताउँदै उनले प्रतिष्ठानमा सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रममा कुनै पनि रोकावट नभएको र नहुने जानकारी दिए ।

तीन दिन अघि उपकुलपति डा मङ्गल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई स्वास्थ्य मन्त्रालयले काम काज रोक्ने निर्णय गरेपछि कर्णालीमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन तथा पढाइ अन्योलमा भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा आएका थिए। सरकारले त्यसको एक दिनपछि अर्थात् बिहीवार प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापालाई निमित्त उपकुलपति र प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीलाई निमित्त रजिष्ट्रारको जिम्मा दिएको थियो।

नयाँ जिम्मेवारी पाएका निमित्त उपकुलपति डा थापा र निमित्त रजिष्ट्रार शाही, नर्सिङ डीन सरस्वती गौतम, जनस्वास्थ्य डीन मुनिराज क्षेत्रीसहितका पदाधिकारीले शुक्रबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी प्रतिष्ठानका कुनै पनि काम नरोकिएका र नरोकिने भन्दै प्रष्टीकरण दिएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति