चीनमा अमेरिकी गुप्तचरहरु असफल

काठमाडौं, २६ कार्तिक । चिनियाँ राष्ट्रपति सी चिनफिङका निकटस्थबारे गुप्तचर सूचना नपाउँदा अमेरिकी अधिकारीहरु निराश हुन थालेका छन्।वर्तमान तथा पूर्व अमेरिकी अधिकारीहरुले बेइजिङले चाल्ने कदमबारे बाइडेन प्रशासनका उच्च अधिकारीहरुले जासुसी सूचना पाउन नसकेको बताएका छन्।

राष्ट्रपति सीको निर्णयप्रक्रियाबारे सूचनाको माग बढिरहेको छ। तर, ताइवानदेखि प्रविधिसम्मका मुद्दामा तनाव बढिरहँदा चीन अमेरिकाका लागि झनझन् कठिन निसाना बन्दै गएको उनीहरुले बताए।

हङकङमा नियन्त्रण कायम गर्न, दक्षिण चीन सागरमा सैन्य परियोजना लागू गर्न, कोभिड १९ को उत्पत्तिबारे छानबिन रोक्न, अमेरिकामा चिनियाँ कम्पनीको आईपीओ जारी हुन नदिन र शत्रु मुलुकविरुद्ध ह्याकिङ बढाउन बेइजिङले तीव्र गतिमा लिएको निर्णयबाट ट्रम्प र बाइडेन दुवै प्रशासनका अधिकारीहरु चकित परेका छन्।

चीनका नीतिनिर्माताहरु के चाहन्छन्, कसरी निर्णय लिन्छन् भन्ने विषयमा अमेरिकी गुप्तचर निकायहरुले लामो समयदेखि पर्याप्त सूचना नपाएको ती अधिकारीहरुको भनाइ छ। अमेरिकी गुप्तचर निकायहरुले चीनमा ठुल्ठूला बाधा खेपिरहेका छन्। किनभने सी शक्तिमा आउनुअघि चीनले अमेरिकी गुप्तचर सञ्जालमा निकै ठूलो क्षति पुर्याएको थियो। त्यसमाथि अमेरिकाले मन्दारिन बोल्ने गुप्तचरहरुको अभाव समेत पहिलेदेखि नै झेलिरहेको छ।

‘हाम्रो मानवीय गुप्तचरी दशकौँदेखि पछि परेको छ,’ ट्रम्पको पालामा राष्ट्रिय सुरक्षा सल्लाहकार रहेका जोन बोल्टनले एक अन्तर्वार्तामा चीनबारे भनेका थिए, ‘पर्याप्त सूचना पाएको महसुस मैले कहिल्यै पनि गरिनँ। म कहिल्यै सन्तुष्ट भइनँ।’

पछिल्लो समय अमेरिकाले आफ्नो विदेश नीतिसम्बन्धी रणनीति चीनमाथि केन्द्रित गर्दै लगेको छ। सीआईएका निर्देशक बिल बर्न्सले गत महिना नयाँ चाइना मिसन सेन्टर निर्माण गर्ने घोषणा गरेका थिए। केही अधिकारीहरुले यस्ता घोषणा प्रभावकारीभन्दा बढी प्रतीकात्मक हुने बताए। थुप्रै अधिकारीहरुले अमेरिकाको समस्या अझ खराब हुँदै गएको बताए। राष्ट्रपति सी अर्को वर्ष तेस्रो कार्यकाल हासिल गर्ने तयारीमा छन्। त्यसअघिको महत्वपूर्ण केन्द्रीय समितिको पूर्ण बैठक चलिरहेको छ। तर, सीको उत्तराधिकारी को होलाजस्ता आधारभूत सूचना समेत अमेरिकासँग छैन।

भर्खरै अफगानिस्तानमा तालिबानको सफलताका विषयमा पनि अमेरिकी गुप्तचर निकाय असफल भएका थिए। चीनको विषयलाई लिएर सबैभन्दा बढी सीआईएको आलोचना हुने गरेको छ। किनभने गुप्तचर भर्ती गर्ने प्रमुख जिम्मेवारी सीआईएकै हो। एक दशकअघि चीनमा सीआईएको सञ्जाललाई चीनले ध्वस्त पारेको थियो।

सो क्रममा बेइजिङले एक दर्जन अमेरिकी गुप्तचर स्रोतलाई मृत्युदण्ड दिएको र बाँकीलाई जेल हालेको न्युयोर्क टाइम्सले २०१७ मा जनाएको थियो। यो अमेरिकी गुप्तचर निकायमाथि भएको सबैभन्दा ठूलो अतिक्रमणमध्ये एक थियो।घरेलु राजनीतिलाई परिवर्तन गर्ने र आफ्नो नियन्त्रण कायम गर्ने सीको प्रयासका कारण पनि अमेरिकी गुप्तचरीमा धक्का लागेको छ। पूर्वराष्ट्रपतिहरु जियाङ जमिन र हु जिन्ताओको कार्यकालमा सामूहिक नेतृत्वलाई जोड दिइन्थ्यो।

त्यतिबेला सीआईएले ७ वा ९ जना नेताहरुको निगरानी गर्न सक्थ्यो। तर, अहिले राष्ट्रपति सीको हालिमुहाली चल्ने हुँदा एक मात्र नेताको भित्री वृत्तमा प्रवेश गर्नुपर्ने चुनौती सीआईएलाई छ। सीको सत्तारोहणअघि पनि चीनको राजनीतिक प्रणाली अति गोपनीय थियो। जहाँ सूचना उच्च नेतासम्म पुग्थ्यो तर प्रणालीभित्रका सबैमाझ विस्तार भने हुँदैनथ्यो।

चीनको प्राज्ञिक क्षेत्र, सञ्चारमाध्यम र नागरिक समाजका संस्थाहरु पनि सरकारको नियन्त्रणमा हुन्छन्। त्यसैले सूचना संकलन गर्न कठिन हुने गर्छ।सीले भ्रष्टाचारविरोधी अभियान चलाएर १५ लाखभन्दा बढी अधिकारीहरुलाई सजाय दिए। जसले गर्दा चिनियाँ अधिकारीहरुको आम्दानीको निगरानी हुन थाल्यो। त्यसकारण पैसा दिएर गुप्तचर सूचना हासिल गर्न पनि झनै कठिन भयो।

चीनले सीआईको सञ्जाल ध्वस्त पारेपछि त्यसबाट उत्रिन समय लाग्ने पूर्वअधिकारीहरु बताउँछन्। त्यसका लागि गुप्तचर भर्ना गर्नुपर्ने, नयाँ ‘एसेट’हरु निर्माण गरेर विस्तारै तिनको पहुँच सूचनासम्म पुर्याउनुपर्ने उनीहरुको भनाइ छ। सम्भवतः त्यो प्रक्रिया अझै चलिरहेको एक पूर्वअधिकारीले बताए।सीआईएका निर्देशक बर्न्सले चीनभन्दा बाहिरका मुलुकमा चीन विज्ञहरुलाई खटाउने विषयमा सोचविचार भइरहेको बताएका थिए।

शीतयुद्धमा सोभियत संघको प्रभावलाई प्रतिकार गर्न अमेरिकाले यस्तै तरिका अपनाएको थियो। गुप्तचर भर्ती गर्न कडा निगरानी हुने बेइजिङका सडकभन्दा अन्य मुलुकमा सहज हुने भएकाले यो तरिका अपनाउन लागिएको एक अधिकारीले बताए। तर, यो दीर्घकालीन समाधान मात्रै हो। तत्कालका लागि भने अधिकारीहरुले अहिलेझैँ सीका तीव्र निर्णयहरुलाई बिना पूर्वजानकारी सामना गर्नुपर्ने हुन्छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति